सडक चर्किएपछि तातोपानी नाका १० दिन बन्द हुने

असोज ७, सिन्धुपाल्चोक । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ । 

सीमा पुलबाट सात किलोमिटरमाथि रहेको यो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य सुरु गरिएकाले आठ दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । 

सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले जानकारी दिए । यो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरू पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको छ । 

यस नाकाबाट भूकम्पपछि यस पालाको दशैँका लागि करिब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सात आठ टोली तिब्बत गइसकेकाले अबको तीन चार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरूले बताएका छन् । दशैँ नजिकिँदै गर्दा राजधानीमा भेडाच्याङ्ग्राको माग बढ्ने गरेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *