यान्त्रिक परिक्षण तथा सार्वजनिक यातायातमा जनचेतना मुलक अडियो विमोचन

असोज ९, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, लोत्से बहुउदेशीय प्रालि तथा सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा नयाँ बसपार्क गोङ्गबुमा यान्त्रिक परिक्षण शुभारम्भका साथै सार्वजनिक यातायातमा जनचेतना मुलक अडियो विमोचन गरिएको छ ।   

चाडपर्व विशेष शुभकामना आदानप्रदानका साथै सार्वजनिक यातायात र यात्राको सुरक्षाका लागि सो कार्यक्रमको आयोजना गरिएको हो । “सुरक्षित यात्रा हाम्रो अभियान” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम उत्साहपुर्ण रुपमा शुरुवात गरिएको थियो ।   

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा लोत्सेको विशेष पहलमा बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधनहरुको निःशुल्क यान्त्रिक परिक्षण गरी सम्भावित दुर्घटना न्युनीकरण गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको सिप्रदीले जनाएको छ ।   

कार्यक्रममा बोल्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले चाडपर्वहरुको समयमा सार्वजनिक यातायातको चाप बढ्ने हुँदा सवारीसाधन र यात्रुहरुको सुरक्षित यात्राका लागि विभिन्न किसिमका ११ वटा निःशुल्क यान्त्रिक परिक्षण गरी सेवा पुर्याउन पाउँदा खुशी लागेको बताए ।   

सो परिक्षण सिप्रदी तथा टाटा मोटर्सले निःशुल्क रुपमा हरेक गाडीको ११ वटा गुणस्तर र सुरक्षाका सूची बनाएर गर्ने छ । बसपार्कमै रहेको टाटा मोटर्सका लागि सिप्रदीको वर्कसप मार्फत् सवारीसाधनको यान्त्रिक परिक्षण हुनेछ भने यात्राका क्रममा कुनै पनि समस्या देखिएमा टाटा मोटर्सको मोबाइल भ्यान मार्फत् सेवा उपलब्ध गराइनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =