पौडेल र श्रेष्ठको जोडीले जित्यो राष्ट्रिय ब्याडमिन्टनको उपाधी

असोज १२, चितवन । चितवनको रत्ननगरमा आयोजित आयसर ट्याक्टर दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि बुटवलका विनोद पौडेल र बैकुण्ठ श्रेष्ठको जोडिने जितेको छ ।
रत्ननगर ३ बेल्सीमा रहेको प्रस्तावित कर्वडहलमा आइतवार भएको फाइनल खेलमा चितवनका विधान गुरुङ र राजु थापाको जोडीलाई पराजित गर्दै पौडेल र श्रेष्ठको जोडिले उपाधि जितेका हुन । उपाधि बिजेता जोडिने नगद ६१ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक पुरु खनालले जानकारी दिए ।
उपबिजेता गुरुङ र थापाको जोडिले ३१ हजार पुरस्कार, शिल्ड र मेडल प्राप्त गरेको खनालले जानकारी दिए । भेट्रान तर्फ कैलालीका बीरेन्द्र बिष्ट र सुरेश बमको जोडी विजय भयो । फाइनल प्रतिस्पर्धामा बुद्धि चौधरी र सुरेशकुमार श्रेष्ठको जोडीलाई पराजित गर्दै बिष्ट र बमले भेट्रान तर्फ तर्फको उपाधि जितेका हुन ।

बिजेता जोडीले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार, शिल्ड र मेडल प्राप्त गरेको अर्का संयोजक विकास डल्लाकोटीले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोसित विनोद पौडेलले नगद ५ हजार पुरस्कार पाएका छन ।
समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ३ का मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार जेएन थपलिया र आयोजक पूर्वी चितवन स्पोटर्स क्लव रत्ननगर ३ का अध्यक्ष केबल न्यौपानेले बिजयी खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा देशभरका ५९ टिमको सहभागिता रहेको थियो ।









