प्राकृतिक कारण गैंडा संरक्षणमा चुनौती, व्यवस्थापनमा निकुञ्जको ध्यान

असोज ५, चितवन । पर्यटन प्रर्वद्धनको एउटा माध्यमको रुपमा रहेको एक सिंगे गैंडा संरक्षणमा चुनौती देखिएको छ ।
चोरी शिकारीबाट गैडा नमरे पनि प्राकृतिक कारण मर्ने क्रम बढेको छ । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७५/७६ मा ४६ वटा गैंडा प्राकृतिक कारण मरेका छन् ।
आर्थिक वर्ष २०७४/७५ मा २६ वटा गैंडा मरेका थिए । अघिल्लो सालको तुलनामा गत वर्ष ठुलो संख्यामा गैडा मरेका छन् । एकै वर्षमा २६ वटा बढी गैंडा मरेपछि संरक्षणमा चुनौती देखिएको हो ।

अत्याधिक गैंडा मरेपछि यसको अनुसन्धानका लागि विभागीय स्तरीय प्राविधिकको टोली गठन गरेपनि सो टोलीले अहिले सम्म रिपोर्ट पेश गर्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी एवंम् सहायक संरक्षण अधिकृत गोपाल घिमिरे भन्छन् ‘एकै वर्षमा ४६ वटा गैंडा मर्नु चुनौतीको विषय हो । प्राकृतिक के कति कारणले मरेका हुने त्यसको रिपोर्ट अझै आएको छैन ।’
गैंडा मर्नुको कारण खोजी गर्न करिब ६ महिनाअघि प्राविधिकको टोली गठन भएको थियो । गैंडा गैंडा जुधेर, बाघले खाएर, बुढो भएर, दलदलमा फसेर, रोगी भएर गैंडा मरेको सुचना अधिकारी घिमिरेले बताए ।
घाँसे मैदान र पानी पोखरी पर्याप्त नहुनु पनि गंैडा संरक्षणका चुनौती हुन् । यसको व्यवस्थापनका लागि निकुञ्जले काम गरिरहेको घिमिरे बताउँछन् । चितवन निकुञ्जमा १० हजार हेक्टर घाँसे मैदान छ । यो मैदान जंगली जनावरका लागि पर्याप्त होइन ।
गत वर्ष २ सय हेक्टर घाँसे मैदान व्यवस्थापन गरेको निकुञ्जले यस वर्ष ७ सय हेक्टर व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । यस्तै गर्त वर्ष ७१ वटा पानी पोखरी निर्माण गरिएको थियो भने यस वर्ष १० वटा भन्दा बढी निर्माण गर्ने निकुञ्जका सुचना अधिकारी घिमिरेले बताए ।
यसअघि सानाठुला गरि निकुञ्ज भित्र १ सय वटा पानी पोखरी थिए । पानी पोखरी र घाँसे मैदान जोडिएर बनाइएको छ । सुचना अधिकारी घिमिरेले भने, ‘गैंडाका लागि घाँससँगै पोखरी निर्माण गरे आहाल खेल्न सजिलो हुन्छ । निकुञ्जले आवश्यकता अनुसार यो वर्ष घाँसे मैदान र पोखरी निर्माण पुरा गर्छ ।’
सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा छन्, जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा छन् । चितवन निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा सहज रुपमा गैंडा देख्न सकिन्छ । गैंडा हेर्नकै लागि पनि आन्तरीक र वाह्य पर्यटकहरु चितवन आउने गर्छन् ।








