चावहिलको पशुपति मित्र माध्यमिक विद्यालयमा भ्रष्टाचार, प्रधानाध्यापक सहित ३ जनाविरुद्ध मुद्दा

असोज ९, काठमाडौं । पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका प्रधानाध्यापक घनश्यामराज काफ्ले सहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त विद्यालयका प्रधानाध्यापक काफ्लेसहित लेखापाल (मावि तृतीय श्रेणी) बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत विक्रम विसीविरुद्ध मुद्दा दायर गरेको हो ।
लेखापाल पराजुली र सहायक प्रधानाध्यापक विसीले विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी मूल्याङ्कन समेत भई रकम निकासा गर्ने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले अनुसन्धान अगाडी बढाएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले पराजुली र बिसीलाई सेवाग्राहीसँग १ लाख ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा प्रधानाध्यापकको पनि संलग्नता देखिएको हो । उनीहरु तीनै जनालाई विगो १ लाख ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना तथा कैद सजाय हुन सक्ने प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।








