‘नेपाली सामान जसले चिन्छ, उसले नेपाली सामान नै खोज्छ’

यही भाद्रको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१९ आयोजना हुँदैछ ।  नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघको आयोजनामा हुन लागेको उक्त मेला भदौ २५ देखि २९ गतेसम्म चल्नेछ । यसको तयारी पनि पुरा भइसकेको जानकारी दिइएको छ ।   

स्वदेशी फर्निसिङ उद्योगको समस्या, बजारीकरण, यस पटकको मेलाको आकर्षण लगायतका विषयमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका अध्यक्ष रुपेश प्रधानसँग मकालु खबरले गरेको कुराकानीको संक्षेपः 

रुपेश प्रधान, अध्यक्ष, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ  

चाडपर्व (दशैँ, तिहार) नजिकिँदै गर्दा फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स गर्दै हुनुहुन्छ । तयारी कस्तो चल्दै छ ?  विगत सात वर्षदेखि हामीले निरन्तर फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स गर्दै आइरहेका छौँ । यो सातौँ संस्करण हो । भूकम्पका कारण बीचमा एक वर्ष ग्याप भयो । गत वर्षहरुमा जस्तै यो वर्ष पनि हामीले मेलालाई भव्य बनाउने कोशिस गरेका छौँ ।   

पहिलेको भन्दा यसपालिको मेला फरक र भव्य होस् भन्ने हिसाबले त्यही अनुसारको सबै तयारी पुरा भइसकेको छ । हामीले मेलाको सबै जिम्मेवारी इभेन्ट सोलुसन कम्पनीलाई दिएका छौँ । उनीहरु प्रोफेसनल भएका कारण हामीले भन्दा राम्रो र व्यवस्थित गर्न सक्नेछन् ।   

५ दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० को हाराहारीमा फर्निचर तथा फर्निसिङजन्य सामग्रीका स्टलहरु रहनेछन् ।  स्टलमा खासगरी नेपालमा उत्पादित सबै किसिमका कार्पेट, म्याट्रेस, डोरम्याट, तन्ना,  काठका फर्निचरहरु, स्टील, प्लाष्टिकका फर्निचरहरु र विदेशी उत्पादनका सामानहरु राखिने छ । स्टलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत जति विदेशी हुनेछन् ।   

सन् २०१२ देखि यो मेला गर्दै आउनुभएको छ, सातौँ संस्करण पनि पहिलेको जस्तै हो या विशेष केही छ ?   

समय अनुसार अलिकति फरक त हुन्छ नै । भर्खरै मात्र दुई वटा नयाँ कार्पेट फ्याक्ट्रीहरु खुलेको छ । उनीहरुको उत्पादन अहिले बजारमा आइसकेको छैन । यही मेलाको दौरानमै उनीहरुको उत्पादन बजारमा सार्वजनिक हुँदैछ । ती कार्पेटहरु पहिलेका भन्दा अझै उच्च गुणस्तरका छन् । एक दुई महिनापछि बजारमा आउँदैछ ।   

अर्को कुरा हरेक वर्ष देश विदेशबाट विभिन्न नयाँ सामानहरु आइरहेका हुन्छन् । नयाँ डिजाइनका नयाँ–नयाँ प्रविधिहरु उत्पादन भइरहेका हुन्छन् । ती सामानहरु सबै उपभोक्ताहरु माझ पुगेको हुँदैन, त्यस्ता सामानहरु मेलामा राख्ने जमर्को गरेका छौँ । ती बाहेक वास्तुशास्त्र, इन्टेरियर डिजाइनसम्बन्धी सेवा तथा जानकारी दिनका लागि छुट्टै स्टलको व्यवस्था छ ।   

यो मेलाको उद्देश्य व्यक्तिगत–संस्थागत नाफा मात्रै हो कि अरु पनि केही छन् ?   

व्यक्तिगत त हुँदै होइन । सबै क्रियाकलाप संस्थागत नै हुन्छन् । यो मेलाको मुख्य उद्देश्य बजारीकरण अर्थात् यो क्षेत्रमा भएका विकासका गतिविधि तथा नयाँ प्रविधिहरु सर्वसाधारण माझ पुर्याउनु हो । मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा सेवाग्राहीलाई जानकारी दिनु हाम्रो उद्देश्य हो ।   

के कस्ता प्रविधिहरु हामीले अहिलेसम्म उपयोग गर्न सकेका छौँ–छैनौँ, विदेशतिर कस्ता प्रविधि कसरी प्रयोग भइरहेका छन्, नयाँ उत्पादनहरु कस्ता छन् लगायतका कुराहरु मेला अवलोकन गरेर तथा सामान खरिद गरेर थाहा पाउन सक्छन् । साथै हाम्रो देशमा ती नयाँ प्रविधिहरुको उत्पादन सम्भव छ कि छैन ? यो क्षेत्रमा के कस्ता समस्याहरु छन् ? आत्मनिर्भर कसरी हुने ? यसको आयात कम गर्न र आत्मनिर्भर हुनका लागि के कस्ता नीति नियम अँगाल्न सकिन्छ, कसरी यस क्षेत्रको सुधार गर्न सकिन्छ ? भन्ने मेला मार्फत् हामीे सरकारलाई ध्यानाकर्षण गराउने छौँ ।   

एक्स्पोको मुख्य उद्देश्य स्वदेशी सामानको बजारीकरण गर्नु हो भन्नु र विदेशी सामान पनि स्टलमा छन् भन्नु अलि नमिले जस्तो भएन र ? 

हो, मेलाको मुख्य उद्देश्य नै स्वदेशी सामानको बजारीकरण गर्नु हो । हामीले यस क्षेत्रका सबै स्वदेशी व्यवसायीहरुलाई आह्वान समेत गरेका छौँ, सहभागी हुनुस् भनेर । घच्घच्याइरहेका छौँ । आउनुभएको पनि छ । साथै फर्निसिङसँग सम्बन्धित नयाँ नयाँ प्रविधिबारे जानकारी दिनु पनि हाम्रो उद्देश्य हो । यसकारण हामीले विदेशी उत्पादनलाई पनि स्थान दिएका हौँ ।  

प्रदर्शनीका लागि विदेशी सामान आउनु भनेको नराम्रो होइन । ग्लोबलाइजेशनको युग छ । विदेशी उत्पादन एकै ठाउँमा देख्दा नेपाली व्यवसायीले पनि विदेशी प्रविधिबारे केही सिक्न सक्छन् । कतिपय व्यवसायीले विदेशी उत्पादन र प्रविधि पछ्याएका पनि छन् ।   

अन्तर्राष्ट्रिय स्तरको तालिमको व्यवस्था गर्ने हो भने नयाँ प्रविधिबारे जान्न व्यवसायीलाई सहज हुने थियो नि, यसका लागि किन पहल गर्नुभएन ?   

अन्तर्राष्ट्रिय स्तरको तालिमका लागि हामीले पहल गरिरहेका छौँ । अहिले सिटीइभिटीबाट यस सम्बन्धी तालिमहरु दिइरहेको हुन्छ । त्यस्तै ठुलाठुला मेशिन बनाउने विदेशी कम्पनीहरुले पनि आवश्यक परे तालिम दिने भनेर नयाँ प्रविधियुक्त मेशिनरीहरु प्रयोग गर्न आह्वान गरिरहेका छन् । तर, त्यसका लागि मेशिन किन्ने हामीसँग क्षमता छैन । उत्पादनमा लागत बढी पर्छ । अन्तर्राष्ट्रिय स्तरको तालिम तथा प्रविधिका लागि त्यही अनुसारको पूर्वाधार तथा वातावरण सरकारले मिलाइदिने हो भने हामी पहल गर्छौं। यदी सरकारले फर्निचरसम्बन्धी काम गर्न चाहनेलाई सस्तो ब्याजदरमा ऋण दिने, केही समयका लागि भन्सार, कर छुट दिने लगायतका नीति अपनाइदिने हो भने पक्कै पनि यो क्षेत्रको विकास सम्भव छ ।   

मेलाको मुख्य आकर्षण के हो ? प्राथमिकतामा के के राख्नुभएको छ ?   

मेलाको मुख्य आकर्षण भनेकै नेपाली बजारमा उत्पादित नयाँ तथा गुणस्तरीय सामानहरुको प्रदर्शन गर्नु हो । किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइसेन्ज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको मुख्य आकर्षण रहेको छ ।   

नेपालमा प्रशस्तै सम्भावनाहरु हुँदाहुँदै पनि यो क्षेत्र आयातमुखी हुनुको कारण के हो ? के–कस्ता समस्याहरु छन् ?   

यो क्षेत्र पछाडी पर्नुको कारणहरु धेरै छ । पहिलो कुरो हामी आयातमुखी छौं । यो क्षेत्रको मात्रै वार्षिक लगभग ४० अर्बको कारोबार छ । त्यसमध्ये वार्षिक १२ देखि १५ अर्बको आयात हुन्छ । कारोबारको ५०–६० प्रतिशत विदेशबाटै आयात हुन्छ ।   

उद्योग, कारखानाहरु खोल्नेतिर राज्यको ध्यान गएको देखिँदैन । अहिलेको समयमा जग्गा किनेर, जग्गा भाडामा लिएर यो व्यवसाय गर्न धेरै गाह्रो छ । यस हिसाबले हामीलाई लागत बढी पर्न आउँछ । लागत बढी परेपछि नेपाली बजार पाउनै गाह्रो पर्छ । त्यस्तै कच्चा पदार्थहरु पनि समयमै आयात भएको पाइँदैन । जबसम्म सरकारबाट औद्योगिक क्षेत्रको निर्माण गर्ने, जग्गा उपलब्ध गराइदिने, त्यहाँका पूर्वाधारहरु निर्माण गरिदिने लगायतका कार्यहरु हुँदैन तबसम्म यी समस्या कायमै रहनेछ ।   

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै समस्या समाधान गर्न के गर्नुपर्ला ?   

सरकारले यस क्षेत्रका जनशक्तिलाई तालिमको व्यवस्था गरिदिनुपर्यो । बजारीकरण गर्नका लागि आवश्यक सहयोग गरिदिनुपर्यो । कच्चा पदार्थहरु समयमै उपलब्ध गराइदिनुपर्यो । हामीकहाँ कच्चा पदार्थ नभएकै कारण बाहिरबाट मगाइरहनु परेको छ । हाम्रो श्रम पनि महँगो, कच्चा पदार्थ पनि बाहिरबाट मगाउनुपर्ने, बजार पनि सानो । बजार सानो भएपछि प्रदर्शन पनि ठुलो गर्न सकिन्नँ । सानो स्केलमा गर्नासाथ त्यसको लागत पनि महँगो पर्छ ।   

हाम्रो छिमेकी मुलुक चीन, भारतको कुरा गर्ने हो भने उनीहरुको बजार ठुलो र निर्यातमुखी छ । एकैपटकमा हजारौँ, लाखौँ पिस सामानहरु उत्पादन गर्छन् । उनीहरुलाई लागत कम पर्न जान्छ । मूल्य पनि कम राख्छन् । त्यही सामान हामीले बनाउँदा निकै महँगो पर्न आउँछ । यसकारण नेपाली उपभोक्ताको नजरमा विदेशी सामान नै पर्छ । नेपालमा विदेशी सामान अत्याधिक मात्रामा प्रयोग हुनुको कारण यो पनि हो ।   

नेपाली सामान गुणस्तरिय हुन्छन् भन्नुभयो, तर नेपाली उपभोक्ताहरुले त विदेशी उत्पादनलाई नै विश्वास गरेको देखिन्छ नि ? 

आजकाल विदेशी उत्पादनको प्रयोग फेसनका रुपमा देखिन थालेको छ । टिकाउ छ, छैन त्यो मतलब हुँदैन नेपालीलाई । बस् हेर्दा राम्रो देखियोस् । अर्को कुरा उनीहरु सधैँभरी एउटै सामान राख्न चाहँदैनन् । फेरिरहन्छन् दुई चार वर्षमा । यसर्थमा नेपाली समाजमा गुणस्तरको भ्यालु नै देखिँदैन । विदेशबाट भित्रिएका सामान बाहिरबाट हेर्दा चिटिक्क, राम्रा देखिन्छन्, सस्तो हुन्छन् । तर भित्र कच्चा, कमसल । नेपालको भन्दा विदेशी सामान नेपालीले रुचाउनुको कारण यही हो । बाहिरी उत्पादनको मुख्य उद्देश्य पनि कम टिकोस् धेरै किनुन् भन्ने हुन्छ । 

स्वदेशी सामान प्रयोग गरिरहने नेपाली उपभोक्ताले विदेशी सामान प्रयोग नै गर्नुहुन्न । १० वर्ष प्रयोग भइसक्दा पनि त्यो सामानको बाहिरको फिनिसिङ उस्तै हुन्छ । हाम्रो देशमा बनाइएको सामानको आफ्नै मौलिकता छ, आफ्नै पहिचान छ, गुणस्तरीय पनि छ, बलियो हुन्छ । त्यसकारण नेपाली सामान जसले चिन्छ, उसले नेपाली सामान नै खोज्छ । विदेशी सामानमा आकर्षित हुँदैन ।   

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघले फर्निचर उद्योग तथा व्यवसायीको हकहितका लागि के कस्ता कार्यहरु गर्दै आएको छ ? 

फर्निचर तथा फर्निसिङ व्यवसायी संघको मुख्य उद्देश्य भनेको यो सँग सम्बन्धित व्यवसायीको संरक्षण गर्नु हो । यो क्षेत्रमा लागेका व्यवसायीको हकहितका लागि लड्नु हो ।   

व्यवसायीको हकहितका लागि हामीले विभिन्न कार्यहरु गर्दै आएका छौँ । पहिलो कुरा त हामीले काठमाडौँ, भक्तपुर, ललितपुर लगायत सबै क्षेत्रका डाटाहरुः कुन क्षेत्रमा कसरी काम गरिरहेका छन्, कति काम गरिरहेका छन् भन्ने कुरा जान्नका लागि डाटा संकलन गरिरहेका छौँ । अहिलेसम्मको डाटामा काठमाडौँ उपत्यकामा मात्रै ४–५ हजार व्यवसायी छन् भने अधिराज्यभर ८–१० हजार व्यवसायी छन् । लगभग हामीले ४ देखि ५ लाखलाई रोजगारी दिएका छौँ ।   

त्यस्तै संघको पहलबाट हामीले सरकारले ल्याएको नयाँ नीति नियमहरु, कर, भन्सार सम्बन्धी नीति नियमहरुमा पनि व्यवसायीहरुको ध्यानाकर्षण गराइरहेका छौँ । हाम्रा कति व्यवसायीहरुलाई यस्ता नीति नियमबारे थाहा छैन । उनीहरु अन्योलमा छन् । के कसो हो, गरौँ कि नगरौँ, हाम्रो व्यापार कस्तो होला भन्ने गुनासो गर्छन् । ती गुनासालाई हामीले सम्बन्धित ठाउँमा पुर्याउने, उहाँहरुलाई एकत्रित गर्ने, योसँग सम्बन्धित गोष्ठी, सेमिनार गर्ने, सचेत गराउने काम गरिरहेका छौँ । विगत २–३ महिनामा हामीले ५–६ वटा सेमिनार, गोष्ठी गरिसकेका छौँ । सम्बन्धित निकायसँग समन्वय गरिसकेका छौँ ।   

पछिल्लो समय सरकारले पनि धेरै राम्रा नीति नियमहरु ल्याएको छ । सरकार र व्यवसायीहरुबीच समझदारीको वातावरण बन्दैछ । र त्यही अनुसार परिवर्तन पनि आइरहेको छ, यो क्षेत्रमा । विदेशतिर गोष्ठी हुँदा हामीले यहाँबाट प्रतिनिधि लाने गरेका छौँ, ताकी अन्तर्राष्ट्रिय स्तरको व्यवसायबारे ज्ञान होस् ।  त्यसैगरी यस व्यवसायसँग सम्बन्धित ट्रेनिङ दिने, कसैको गोदाम आगलागी लगायतका क्षति भएमा सहायता दिने, क्षतिको आँकलन गरी क्षतिपूर्तिको सम्बन्धमा सम्बन्धित पक्षसँग पहल गरिदिने लगायतका कार्यहरु गर्दै आएका छौँ ।   

भविष्यमा यो क्षेत्र निर्यातमुखी बन्न सक्छ ? यसका लागि केही योजना त बनाउनु भएको होला नि ? 

सरसर्ती हेर्ने हो भने अहिले हामी केही हदसम्म आत्मनिर्भर भएका छौँ । दुई चारवटा वस्तुहरुमा हामी आत्मनिर्भर भइसकेका छौँ । १५–१६ वटा फ्याक्ट्रीहरु भइसकेको छ । अन्तर्राष्ट्रिय स्तरका कार्पेट, म्याट्रेस बाहेकका हाम्रो स्तरका कार्पेट, म्याट्रेसहरुको आयात अबका वर्षहरुमा घट्दै जानेछन् । कार्पेटहरुमा आत्मनिर्भर भइसकेका छौँ । फर्निचरसँग सम्बन्धित अरु सामानहरुको आयात कसरी कम गर्ने, कसरी स्वदेशी उत्पादन बढाउने भन्ने कुरा अहिले विचारणीय छ । हामी सम्बन्धित पक्षलाई घच्घच्याउँदै छौँ ।   

हाम्रो देशमा काठ पनि व्यापारमुखी छैन । व्यापारकै लागि भनेर रुखविरुवा रोपिएको छैन । यो पनि विदेशबाटै आयात गर्नुपर्छ । वनजंगलमा ढलिरहेका काठहरुको पनि समयमै व्यवस्थापन भएको देखिँदैन । त्यतिकै कुहिएर नाश भइरहेको हुन्छ । त्यसलाई समयमै व्यवस्थापन, लिलामी गरेर सम्बन्धित व्यवसायीलाई समयमै दिन सकेको भए हामीले समयमै काठ पाउँथ्यौँ होला । थोरै भएपनि आयात कम हुन्थ्यो ।   

हाम्रो आँकडा अनुसार लगभग यो क्षेत्रमा प्रयोग हुने आधा काठ विदेशबाट आयात हुन्छ । गत वर्षमा मात्रै ७ अर्बको काठ आयात भएको थियो । हुन त भूकम्पपछिको पनुर्निर्माणका लागि धेरै काठको आवश्यकता परेको हो । हामीकहाँ काठ कमै मात्रामा छ । अब व्यवसायिक रुपमा एउटा रुख काटेपछि १० वटा रोप्ने नीति ल्याउनुपर्यो । यूरोप, कम्बोडिया, भियतनामतिर त्यहाँ व्यवसायीक हिसाबले नै रुखविरुवा रोपिएको पाइन्छ । यहाँ आउने काठ पनि त्यतैतिरको हो । नेपाल सरकारले पनि यतातिर पहल गर्ने हो भने काठ आयात पनि घट्नेछ र भविष्यमा यो क्षेत्र निर्यातमुखी हुनेछ । नेपाली अर्थतन्त्रले पनि गति लिन सक्छ । 

आउँदै गरेको एक्स्पो भ्रमणका लागि आउन चाहनेहरुलाई के भन्नुहुन्छ ?   

हरेक वर्ष हामीले यो मेला गर्दै आइरहेका छौँ । हरेक वर्षको मेलामा केही फरक गर्ने कोशिस गरिरहेका छौँ र, गर्दै पनि आइरहेका छौँ । सर्वसाधारणको पनि पहुँच होस्, सजिलै अवलोकन गर्न सकुन् भन्ने हेतुले हामीले यो वर्ष प्रवेश निःशुल्क गरेका छौँ । साथै राम्रा राम्रा, गुणस्तरीय सामानहरुलाई प्रदर्शनमा राख्ने छौँ । मेलामा आउने आगन्तुकहरुले सुलभ मूल्यमा गुणस्तरीय सामान खरिद गर्न पाउनुहुनेछ । हामी व्यवसायीको हौसला बढाउन र यो क्षेत्रमा टेवा पुर्याउनकै लागि भने पनि एक चोटी मेला अवलोकन गर्न म सबैमा आग्रह गर्न चाहन्छु ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *