चाडपर्व लागेसँगै धरानमा बजार अनुगमन, अखाद्य बस्तु नष्ट

भाद्र १६, धरान । चाडपर्व सुरु भएसँगै धरानका बजार अनुगमन सुरु गरीएको छ । धरान उपमहानगरपालिकाले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै बजार अनुगमन सुरु गरेको हो ।  आज सोमबार वडा नम्बर १ छाताचौकको पुरानो हस्पिटल अगाडीे लक्ष्मी सडक बजार क्षेत्रमा अनुगमन गरिएको छ । 

अनुगमनको क्रममा व्यापारीहरुले आचारसंहिता सँगै नियम कानुनको पालना नगरेको पाइएको छ । अनुगमन गरिएका अधिकांश पसलहरुमा खाद्य पदार्थको उत्पादन मिति र प्रयोग गर्ने अन्तिम मिति नभएको पाइएको अनुगमन संयोजक यादवले बताए ।   

साथै सोही अनुगमनको क्रममा कतिपयको व्यवसाय दर्ता तथा नविकरण नभएको समेत पाइएको छ । त्यस्ता ब्यापारीलाई सुध्रिन तथा ब्यवसाय दर्ता गर्न चेतावनी दिइएको थियो । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख रामबाबु यादवको संयोजकत्वमा उद्योग बाणिज्य संघ सुनसरीका सदस्य सिताराम आचार्य, धरान नगर प्रहरी प्रमुख बिष्णु कोईराला, सृजन जोशी, उत्सव ढकाल, कृष्ण ताम्राकार लगायतको टोलीले बजार अनुगमन गरेको हो ।  

धरान १ स्थित लक्ष्मी सडक छाताचौकको पुरानो हस्पिटल अगाडी रहेको न्यु गुप्ता किराना तथा शक्ति चिया प्याकेजीङ उद्योग तथा किराना पसलमा रहेका खाद्य सामग्रीहरुमा लेवल, उत्पादन मिति, एक्सपायर मिति समेत भेटिएन । त्यस्ता खाद्य वस्तुहरुलाई अनुगमन समितिले तथा खान योग्य नरहेको भन्दै नष्ट गरेको छ । उक्त पसलहरुमा पाइएका म्याद गुज्रेका तथा मिति स्पष्ट नभएका मिक्स मसाला, खोर्सानीको धुलो, घ्यु, कोकाकोला, स्लाईस लगायतका सामग्री नष्ट गरिएको छ ।   

अनुगमन टोलीले पहिलोपटक अनुगमन भएकोले व्यवसायीहरुलाई सुधार गर्न समय दिएको छ पुनः अनुगमनमा आउँदा सुधार नभए कानुनी कारवाही गरिने अनुगमन टोलीका  संयोजक रामबाबु यादवले बताए ।  धरानमा प्रायजसो चाडपर्बको बेला मात्रै बजार अनुगमन हुने गर्दछ । अन्य समयमा उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च र उपभोक्ता अधिकारकर्मीहरु के गर्छन् थाहै हुँदैन । नियमित बजार अनुगमन नहुँदा स्थानीय उपभोक्ताहरु अखाद्य बस्तु प्रयोग गर्न तथा ब्यापारीहरुबाट ठगीन बाध्य छन् ।   

कतिले चाडवाड निजिकिँदै गर्दा भएको अनुगमनलाई नौटंकी भएको बताएका छन् । ‘अरु बेला जसले जे गर्दा पनि भइरहेको छ । दशैं तिहार आएपछि दुई चार दिन यसो छड्के जस्तो गर्नुको अर्थ छैन ।’ एक उपभोक्ताले भने । उनले उपमहागरपालिकाले बजार अनुगमनका लागि नियमित अनुगमन समिति बनाएरै काम गर्ने प्रभावकारी हुने बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *