चन्द्रगिरीमा जारी फुटसल प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै
भदौ १९, काठमाडौँ । समुदाय–प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरीको आयोजनामा जारी फुटसल प्रतियोगिता अन्तर्गत बिहीबार सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै छ । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको १३औं राष्ट्रिय दिवसको उपलक्षमा ‘स्वास्थ्य र सम्बन्ध सुधारका लागि खेलकूद’ भने मूल नाराका साथ बुधबारबाट फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
नगरपालिकाका युवा, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन फुटसल प्रतियोगिताको आयोजना गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले बताए ।
प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ लाई ६-१ गोल अन्तरले हराउँदै चन्द्रागिरी नगरपालिका क्वाटर फाईनलमा पुगेको छ । त्यस्तै चन्द्रागिरी वडा नम्बर १२ लाई ८-२ अन्तरले हराउँदै क्वाटर फाईनलमा पुगेको हो ।
त्यसै गरि सञ्चारकर्मी र वडा नम्बर १० को टिम खेलको ३-३ अन्तरले बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा गएको थियो । अन्तिम ट्राईबेकरमा सञ्चारकर्मी ज्ञानेन्द्र महतको गोल चुकेपछि वडा नम्बर १० को टिम विजयी भएको थियो । बुधबार नै भएको खेलमा चन्द्रागिरी वडा नम्बर १३, वडा नम्बर ४, ५ वडा नम्बर १४, वडा नम्बर २ क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
बुधबारबाट सुरू भएको प्रतियोगिता २० गतेसम्म सम्पन्न हुने आयोजकले जनाएको छ । चन्द्रागिरीको हाइभिजन फुटसल मैदानमा जारी प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई शिल, मेडल र प्रमाणपत्र साथै चौथो हुने टोलीलाई प्रमाणपत्र प्रदान गरिने प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।