पृथ्वी प्रज्ञा–पुरस्कार सत्यमोहन जोशीलाई
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
भदौ ३१, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले चार–चार वर्षमा प्रदान गर्दै आएको राष्ट्रकै सर्वाधिक महत्वपूर्ण पुरस्कार ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ २०७६–२०७८ वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले प्राप्त गर्ने भएका छन् ।
आज प्रज्ञा भवन, कमलादी, काठमाडौँमा बसेको नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभाको ३४औँ बैठकले उक्त निर्णय गरेको कुलपति गंगाप्रसाद अधिकारीले जानकारी दिए । उक्त पुरस्कारको राशि नगद रु चार लाख रहेको छ ।
साथै प्राज्ञसभाको सो बैठकले गत आ.व.को बजेट अनुमोदन गर्नुका साथै आगामी आ.व. २०७६/२०७७ का लागि नीति, योजना तथा कार्यक्रम पारित र विनियोजित २३ करोड ७ लाख ३३ हजार रकम बजेट पारित गरेको छ ।
त्यसैगरी प्रज्ञा–प्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारहरूको पनि घोषणा गरेको छ । जसअनुसार प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार प्रा.डा त्रिरत्न मानन्धरलाई, नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार २०७५–२०७६ का लागि प्राडाटङ्कप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ ।
त्यस्तै प्रत्येक एक–एक वर्षमा प्रदान गरिने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७५ मदन रेग्मीलाई, २०७६ भागीरथी श्रेष्ठलाई, पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ अमर तुम्याहाङ (लिम्बू भाषा–साहित्य) लाई, २०७६ अमृत योञ्जन तामाङलाई, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ अयोध्यानाथ चौधरी (मैथिली भाषा साहित्य) लाई, २०७६ अशोक थारू (थारू, भाषा–साहित्य) लाई प्रदान गरिने भएको छ । यी पुरस्कारको राशि नगद एक–एक लाख रहेको छ ।
यसैगरी प्रज्ञा–प्रतिष्ठानले अन्य तीन पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । नेपालबाहिर रहेर नेपाली साहित्यमा विशिष्ट योगदान गरेका नेपाली मूलका स्रष्टालाई प्रत्येक दुई वर्षमा दिइने गरी नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार र नेपाली भाषाबाट विदेशी भाषामा र अन्य भाषाबाट नेपाली भाषामा अनुवादका माध्यमबाट विशिष्ट योगदान गरेका स्रष्टालाई दिइने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ । यी पुरस्कारको राशि नगद एक–एक लाख रहने छ ।
त्यस्तै अध्ययन र अनुसन्धानका माध्यमबाट नेपालबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशी विद्वान्लाई तीन तीन वर्षमा दिइने गरी तीन हजार अमेरिकी डलरको नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापनाको समेत निर्णय गरिएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)