शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु, पेटको बच्चा पनि मृत
असोज ९, पाल्पा । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगकी २४ वर्षीया विपीन्द्र सूयवंशी रहेकी छन्। अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई–तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । गएराति ११ बजेतिर उनको मृत्य भएको हो ।
तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ । सामान्य रूपमा सुत्केरी अवस्थामा रहेकी सूर्यवंशीको पेटको बच्चा मृतावस्थामा रहेको थियो ।
मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो । श्रीमान् केशर सूर्यवंशीका अनुसार शल्यक्रियापछि राति धेरै पटक छटपटाइ भयो, छटपटाइबाट अक्सिजनको नली हट्यो । नर्सहरुले अक्सिजन जडान गर्न नसक्दा समस्या भएको आफन्तको दाबी छ । रासस