पिण्डेश्वर बाबाधाममा हरितालिका तीज पर्वको रौनक


भाद्र १६, धरान । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज । नेपाली हिन्दु नारीहरुले आज भगबान शिबको पूजाराधना गरी तीज पर्व मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रही आएको छ ।
यसैक्रममा सुनसरीको एकमात्र शक्तिपीठको रुपमा रहेको पिण्डेश्वर महादेव मन्दिरमा बर्तालु महिलाहरुको घुईचो लागेको छ । धरान वडा नं १४ को आयोजनामा गरेको तीज बिशेष कार्यक्रममा हजारौको संख्यामा बर्तालु महिला दिदिबहिनीहरुको घुईचो छ ।
सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि ‘श्री महादेव स्वामी पाऊँ’ भनी मनमनै कामना गरिरहेको भएपनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाइ सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।
भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाइ आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । तीजको दिनमा महिलाहरुले व्रत बसी पूजा आराधनाका साथै नाचगान गरेर यो पर्व मनाउने गर्दछन् ।
नारी स्वतन्त्रताको प्रतीककारूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेव, धरानको पिण्डेश्वर मन्दिर लगायत शिवालयहरुमा आज बिहानैदेखि पुजाआजा साथै नाचगाँन गर्ने गर्दछन् । आजका दिन सरकारले महिला कर्मचारीका लागि सार्वजनिक बिदा समेत दिएको छ ।
यसपर्वमा पतिको मात्र होईन, छोराछोरी, आमा बुवा र सम्पूर्ण परिवार अनि मानव जगतकै शुद्धि र शान्तीको कामना गर्ने गरेको महिला दिदी बहिनीहरु बताउँछन् । आधुनिक र पौराणिकताको आधारमा तीज पर्व मनाउने गरिन्छ । यो पर्व सबै परिधि र सीमा भन्दा माथि उठेर दिदीबहिनीहरु सँगसँगै मनाउने क्रम बढ्दो छ । कसैले यो हाम्रो संस्कृति होइन भनिरहँदा कतिले राम्रोलाई हाम्रो मान्नु पर्छ भन्दै सरिक हुने गरेको पनि देखिएको छ ।
बर्षभरि चुलाचौका घर व्यवहारमा कुजिँएका महिलाहरु तीजमा सम्पूर्ण व्यस्तता त्यागेर स्वतन्त्र र उन्मूक्त भएर नाच गान अनि रमाईलो गर्दछन । कुनै समय हिन्दु महिलाहरूले मात्र मनाउने तीज आजकल अन्य जाति जनजातिले समेत मनाउने गरेका छन् । धरान आदिवासी जनजातिको शहर भएपनि संस्कार सस्कृति मनाउने कुरामा स्वतन्त्र र धनी छ ।
विभिन्न संघ संस्था र समूह अनि राजनीतिक दलका भातृ संघ संगठनहरुले पनि तीज उत्सव भव्यताको साथ मनाउने गरेका छन् । धरानका टोल टोलमा दिदीवहिनीहरुको सक्रियतामा सामूहिक रुपमा तीज उत्सवको आयोजना गरिन्छ ।
