बाजुरामा १ रुपैयाँको ३ दाना स्याउ

भदौ २२, बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन्। उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो। बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ। 

उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ। उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै हिसाबले बेच्छु।’ लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए। उनले भने, ‘किन्न कोही आउँदैन। बजार निकै टाढा छ। भरियालाई बोकाएर पुर्‍याउन सकिँदैन। स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाउनुपरेको छ।’ 

गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ। कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसान अनिल शाही बताउँछन्। 

null

गाउँका दुई सयभन्दा बढी किसानले स्याउ खेती गरेका छन्। प्रत्येक परिवारको बारीमा तीन सयभन्दा बढी स्याउका बोट छन्। स्वामीकार्तिक खापर गाउँपालिका(३ जुकोट, सोही गाउँपालिका १ र २ साप्पाटा हिमाली गाउँपालिका धिम, पाडी, जगन्नाथ गाउँपालिका साबिकको जगन्नाथ गाविस क्षेत्र र बुढीनन्दा नगरपालिकाकाको साबिकको पाण्डुसेन गाविसमा प्रशस्तै स्याउ फल्छ। 

स्याउ फलाउन सरकारी तथा गैरसरकारी संस्थाले गरेको खर्चको तथ्यांक छैन। तर बजारसम्म पहुँच पुर्‍याउन कुनै निकायले पनि सहयोग नगरेको गुनासो किसानको छ। 

जिल्ला कृषि ज्ञान केन्द्रले स्याउको ग्रेड निर्धारण गरेको छ। राम्रो ग्रेडको स्याउ किलोको १५ रुपैयाँ निर्धारण गरिएको छ। ‘एक रुपैयाँमा एक दाना त कोही किन्दैन। १५ रुपैयाँ किलो त महँगो भयो नि। ४÷५ दानामा किलो भइहाल्छ’, किसान गजुर शाहीले भने। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *