‘भाषा शिष्ट, काम प्रष्ट’

भदौ १३, चितवन । पूर्वी चितवनमा वढ्दै गरेको लागू औषध कारोवार तथा सेवन नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय टाँडीले प्राथमिकता दिने जनाएको छ ।   

हालै सरुवा भएर आएका इप्रका टाँडीका डिएसपी भावेष रिमालले शुक्रबार पूर्वी चितवनका पत्रकारहरुसँग आयोजित परिचयात्मक कार्यक्रममा लागू औषध नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित हुने बताए ।  लागू औषधका मुद्याहरु यहाँ धेरै दर्ता भएका छन् डिएसपी रिमालले भने, ‘विद्यालयस्तरबाटै नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमलाई व्यापकता दिइनेछ ।’ 

इलाका प्रहरी कार्यालय टाँडीको सेवा क्षेत्रमा लागू औषध सेवन कर्ताको संख्या धेरै रहेको उनले बताए । भर्खरका युवाहरु नै लागूऔषध सेवनमा संलग्न छन् । डिएसपी रिमालले प्रहरी महानिरीक्षकको १० बुँदे कार्ययोजनालाई दृढता पूर्वक कार्यान्वयन गर्न भाषा शिष्ट काम प्रष्ट गर्ने प्रतिवद्धता जनाए ।   

अपराधी, तस्कर तथा विचौलियाहरुसँग सम्पर्क एवम प्रलोभनमा पर्ने प्रहरीलाई कारवाही गरि सेवाग्राहीलाई सोझै प्रहरी सेवा प्रदान गर्ने, स्थानीय तहसँग समन्वय गरि नागरीक मैत्री प्रहरी कार्य गर्ने, राजमार्गमा हुने दुर्घटना न्युनिकरण गर्ने, फरार अपराधीहरुको खोज तलास गरि कानुनी दायरामा ल्याउने, युवा लक्षित कार्यक्रम ल्याई समाजमा युवाको उपस्थिती महसुश गराउने डिएसपी रिमालले बताए ।   

गम्भीर अनुसन्धान बाहेकका सुचनाहरु सहज रुपमा सञ्चार माध्यमलाई उपलब्ध गराउने उनको भनाई थियो । डिएसपी रिमाल जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सरुवा भई टाँडी आएका हुन् ।   

यसअघिका डिएसपी सन्तोष आचार्यको प्रहरी प्रधान कार्यालय काठमाडौ सरुवा भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक शेखर शाहले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई व्यापकता दिईएको भन्दै यसलाई निरन्तरता दिइने बताए । इप्रका टाँडीले विद्यालय, कलेज र समुदायमा पुगेर सचेतना मुलक कार्यक्रम गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *