रवि लामिछानेसहित तीनै जनालाई रातारात पुर्याइयो चितवन

 

साउन ३१, चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि काठमाडौँबाट प्रहरिले पक्राउ गरेका रवि लामिछानेसहित तीनै जनालाई चितवन लगिएको छ । 

पक्राउ परेर चितवन ल्याइएकामा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता भन्ने रुकु कार्की रहेका छन् । 

null

पक्राउ परेका लामिछाने, कँडेल र अस्मितालाई एउटै गाडीमा शुक्रबार राति साढे एक बजे जिल्ला प्रहरी कार्यालय, चितवनमा पुर्याएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले मकालु खबरसँग बताए । भरतपुर ल्याएपछि उनीहरु तीनैजनाको प्रहरीले भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरेको थियो । 

लामिछाने न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता हुन् भने कँडेल सोही कार्यक्रममा कार्यरत थिए । उनीहरुलाई साँझ टेलिभिजनको कार्यालयबाट र कार्कीलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । 

आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले उनीहरुको नाम लिएर आफूलाई यो अवस्थामा पुर्याउन बाध्य बनाएको भन्दै मोबाइलमा रेकर्ड गरिएको भिडियो फेला परेको थियो । 

उक्त भिडियोका आधारमा आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । 

प्रहरीले भिडियोको डिजिटल परीक्षणसमेत गरिसकेको छ । पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित एक होटलको कोठाभित्र मृत भेटिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *