मानव तस्करीमा वायुसेवा निगमकै कर्मचारी संलग्‍न

काठमाडौं, २३ साउन । मानव तस्करीमा संलग्न भएको आशंकामा नेपाल वायुसेवा निगमका कर्मचारीसहित दुई युवती पक्राउ परेका छन् । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलस्थित निगम कार्यालयमा कार्यरत लोडर कृष्ण केसीलाई मंगलबार पक्राउ गरेको हो । केसीले सुनवल–१ नवलपरासीकी रुकमाया रुचाल र बाग्लुङपानी लम्जुङकी रीता परियारलाई गैरकानुनी बाटोबाट कतार र ओमान पठाउन सेटिङ मिलाएका थिए । अध्यागमनले रुचाल र परियारलाई समेत नियन्त्रणमा लिएको हो । 

विमानस्थलस्थित अध्यागमनका कर्मचारीमाथि मानव तस्करको आरोप लागिरहेका बेला पछिल्लो पटक निगमका कर्मचारीको समेत संलग्नता पाइएको हो । ती दुई युवतीहरू निगमबाट नयाँ दिल्ली जान लागेका थिए । त्यहाँबाट उनीहरू कतार र ओमान जाने तयारीमा थिए । मानव तस्करको गिरोहले दुवै युवतीको राहदानीमा अध्यागमनको नक्कली प्रस्थान छाप लगाइदिएका थिए । त्यसमा समेत निगम कर्मचारी केसीको संलग्न रहेको स्रोतले दाबी गरेको छ । उनीहरू अध्यागमनको बाटो छलेर विमान चढ्ने अन्तिम विन्दुसम्म पुगेका थिए । 

 

null

अध्यागमनको नक्कली छाप कसरी र कसले बनायो केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान थालेको छ । केसीले रुचाललाई अवैध बाटोबाट विमान चढ्ने अन्तिम विन्दुमा पुर्‍याएका थिए । परियारलाई भने उनले भित्र पुर्‍याउन पाएनन् । अध्यागमनका कर्मचारीले परियारलाई अध्यागमन डेस्क आसपासबाट पक्राउ गरेको हो । केसीले दुवै जनाको राहदानी लिएका थिए । अध्यागमनले केसीसहित ती दुवै युवतीलाई थप अनुसन्धानका लागि विभाग पठाएको थियो । 

अध्यागमन विभागका अनुसन्धान अधिकृत बैकुण्ठराज रेग्मीले प्रारम्भिक छानबिनपछि निगमका कर्मचारी केसी र कतार हिँडेकी रुचाललाई थप अनुसन्धानका लागि सीआईबीलाई बुझाएको बताए । लम्जुङकी परियारलाई भने थप अनुसन्धानका लागि विभागमा राखिएको छ । कतार हिँडेकी रुचालले आफ्नो राहदानीमा लगाएको नक्कली डिपार्चर छापबारे थाहा नभएको बताइन् । रोशन नामका एक जनाले उनीहरूलाई विमानस्थलमा सेटिङ गरेर नयाँ दिल्ली पुर्‍याइदिने भनेपछि ती युवती विमानस्थल पुगेका थिए । 

रुचालका अनुसार शंकर नामका अर्का व्यक्ति नयाँ दिल्लीमा रहेको र उनले आफूलाई कतार पठाइ दिने आश्वासन दिएको बताइन् । रोशन र शंकर व्यापारिक साझेदार भएको रुचालले बताइन् ।परियारलेसमेत आफूलाई रोशनले फसाएको बताइन् । होटलमा बसिरहेका बेला रोशन अत्तालिँदै आएर एक्कासी मंगलबारको टिकट भएको भन्दै एयरपोर्ट गइहाल्न उनीहरूलाई दबाब दिएको परियारले बताइन् । त्यसपछि उनीहरू विमानस्थल पुगेका थिए । परियार यसअघि दुबई गएकी थिइन् भने रुचाल पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेकी थिइन् । अन्नपूर्ण पोष्टमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *