कहाँ अड्कियो समाजवादी–राजपा एकताको गाँठो ?

भाद्र १, काठमाडाैँ । नेताहरूको पदिय व्यवस्थापनको सकसका कारण समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको एकता अन्यौलमा परेको छ । 

सैद्धान्तिक रूपमा दुवै पार्टी एकीकरणको पक्षमा रहेपनि नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौलका कारण एकता छलफल अघि बढ्न नसकेको हो । विषेशगरी पार्टीको नेतृत्व र नेताहरुको व्यवस्थापनका कारण एकता प्रक्रिया अन्यौलमा रहेको नेताहरु बताउछन् ।   

केही महिना अघि राष्ट्रिय जनता पार्टी राजपाले लिखित रूपमै पार्टी नेता महन्थ ठाकुरको नेतृत्वमा पार्टी एकीकरणको प्रस्ताव गरेको थियो । सो प्रस्तावमा केन्द्र र स्थानीय तहसम्मकै नेतृत्व तथा पदाधिकारीमा समान हैसियतका आधारमा एकीकरण हुनुपर्ने उल्लेख छ । 

यसलाई समाजवादीले स्विकारेको छैन । समाजवादी पार्टी हाल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसंग एकता भई बनेको हो । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच गत वैशाखमा एकीकरण भई समाजवादी पार्टी निर्माण भएको थियो । यसको कार्यकारिणी नेतृत्वमा उपेन्द्र यादव छन् । एक हजार सदस्य रहेको संघीय परिषद् नेतृत्वमा बाबुराम भट्टराई छन् ।भट्टराईले पार्टी एकता गरेपछि राजपासंगको एकता प्रक्रिया झनै अन्यौलमा परेको नेताहरु बताउँछन् ।   

अनौपचारिक तहको छलफलबाटै प्रमुख मुद्दा टुंगिएपछि औपचारिक तहमा वार्ता बस्ने दुवै पार्टीबीच समझदारी छ । तर पछिल्लोपटक वार्ता टोलीबीच अनौपचारिक संवादसमेत हुन सकेको छैन । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ भन्छन्, ‘सैद्धान्तिक रूपमा दुई पार्टीबीच एकीकरण गर्नुपर्छ भन्नेमा छौं । तर एकीकरणको मोडालिटी र नेताहरूको व्यवस्थापनबारे छलफल भइसकेको छैन ।’ 

०७४ वैशाखमा ६ मधेस केन्द्रित दल मिलेर राजपा बनेपछि अहिलेसम्म उसको एकता अधिवेशन भएको छैन । ६ जना अध्यक्ष मण्डलका सदस्यले चक्रीय प्रणालीमा पार्टीको नेतृत्व सम्हालेका छन् । महाधिवेशन नहुँदा एकीकरणमा प्राविधिक कठिनाइ परेको राजपा महासचिव केशव झा बताउँछन् । महाधिवेशनपछि एकल नेतृत्वमा जाने राजपाले हाल ६ जना अध्यक्ष भएकाले समाजवादीसँग एकतापछि पार्टीको नेतृत्व र नेता व्यवस्थापनमा कसरी जाने टुंगो लगान सकेको छैन ।   

महासचिव झा भन्छन्, ‘महाधिवेशनअघि नै एकीकरण गर्दा नेताहरूको व्यवस्थापन कसरी गर्ने, तलका पार्टी संगठनको समायोजन कस्तो आधारमा गर्ने जस्ता कठिनाइ छन् ।’ 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *