वीपी प्रतिष्ठानका उपकुलपति रौनियारसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

साउन १९, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रा.डा रौनियारविरुद्ध १ करोड २८ लाख र अर्का रामहरी रौनियारविरुद्ध ८ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
null
वीपी प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशिल कुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उपकुलपति प्रा.डा. रौनियारले पटक पटक कमिसन बापत घुस लिएको अडियो भिडियोसहितको उजुरी असार १६ गते दर्ता भएको थियो ।
त्यस्तै प्राडा रौनियारले फार्मेसी भवन निर्माणको चौँथो रनिङ बिल भुक्तानीका लागि उजुरी निवेदक सुशिल कुमार झालाई बोलाएर भुक्तानी दिनुपर्ने रकमबाट थप ८ लाख कमिसन बापत घुस रिसवत माग गरेको भन्ने आयोगमा अर्को उजुरी पनि पेश भएपछि सोही उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले रौनियारले उजुरी निवेदकबाट घुस रिसवत लिई सोही प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा.रामहरी रौनियारलाई आफ्नो निवास A5 ब्लकमा राख्न पठाइसकेको अवस्थामा घरमा खानतलासी गर्दा रकम फेला परेको अख्तियारले जनाएको छ ।
अनुसन्धानका रौनियारले उजुरी निवेदकबाट पटक पटक गरी १ करोड २८ लाख लिएको प्रमाणित भएको र सोही रकम बराबरको मागदाबीसहित मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रवक्ता कोइरालाका अनुसार अर्का आरोपी डा. रामहरी रौनियारले घुस लिनेखाने कार्यमा मतियार भई कार्य गरेको तथ्य सप्रमाण पुष्टि भएको र उनीविरुद्ध ८ लाख बिगोदाबीसहित मुद्दा दायर गरिएको छ ।








