मन्दिरमा पसलका लागि सटर नबनाउन मन्त्रालयको पत्र

साउन ३१ नेपालगञ्ज । नेपालगञ्जको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले पुरानो व्यावसायिक सटर भएको स्थानमा नयाँ भवन बनाउन शुरु गरेपछि नगरवासीले विरोध जनाएका छन् ।  

नगरवासीले सामाजिक सञ्जालमार्फत मन्दिर क्षेत्रमा कुनै पनि व्यापारिक भवन नबनाउन नगरप्रमुख डा धवलशम्सेर राणासँग आग्रह गर्दै त्यस कार्यको विरोध गरेका हुन् । 

मन्दिर व्यवस्थापन समितिले भने त्यहाँको सडक विस्तारको क्रममा उक्त मन्दिरको व्यापारिक सटरहरु भत्काइएकाले व्यवसायीको अनुरोधमा नयाँ भवन निर्माण शुरु गरिएको जनाएको छ । 

प्रदेश सरकार र विभिन्न धर्मावलम्बीहरुको सहयोगमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तलामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख राणाले बताए । 

यसैबीच शहरी विकास मन्त्रालयले बागेश्वरी मन्दिरमा सटर बनाउने कार्य रोक्न गृह मन्त्रालयलाई लेखेको पत्रको बोधार्थ बाँके जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । 

नागरिकको विरोधकै बीच उक्त मन्त्रालयले मन्दिर क्षेत्रमा सटर नबनाउन हिजो पत्र लेखेको हो । नेपालगञ्ज निवासी सो मन्त्रालयका मन्त्री मोहमद इश्तियाक राईको निर्देशनमा मन्त्रालयका इञ्जिनीयर सौगात थापाको हस्ताक्षरमा कम्पलेक्स निर्माणको काम रोक्न पत्र लेखिएको थियो । रासस 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *