नेकपा सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यको कार्य विभाजन मुख्य एजेण्डा

भाद्र १, काठमाडौं । एकताका बाँकी काम पूरा गर्नका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक (आइतबार) बस्दै छ । हिजो बस्ने भनिएको बैठक तयारी नपुगेका कारण आजलाई सरिएको हो ।   

दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । थप छलफल गर्नुपर्ने भएका कारण सारिएको बैठक  दिउसो बस्ने महासचिव विष्णु पौडेलले जानकारी दिए । ‘बैठकमा एकताका बाँकी कार्य पूरा गर्ने विषयमा थप छलफल हुनेछ’, उनले भने । 

शुक्रबार बसेको सचिवालय बैठकले विभागको जिम्मेवारी बाँडफाँट टुंग्याएको छ । स्कुल विभागमा विवाद भएपछि लामो समयदेखि रोकिँदै आएको नेकपाको बैठक हिजो शुक्रबार बसेको थियो । स्कुल विभागमा ईश्वर पोखरेलका नाममा सहमति भएसँगै विभागको जिम्मेवारी बाँडफाँट सकिएको हो ।   

आज बस्ने बैठकले नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारण गर्ने बताइएको छ ।  एकता हुन बाँकी रहेका सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठन, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनलगायतका छन् । 

अहिलेसम्म सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लागेको छ ।   

अधिकांश जिल्ला र स्थानीय तहका कमिटीले पूर्णता पाइसकेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भए पनि सबै कमिटीको एकता अझै सकिएको छैन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *