‘डिपेन्डेन्ट भिषा’मा अष्ट्रेलिया पठाईदिन्छु भन्दै केटी देखाएर ठगी धन्दा !, नियामक निकाय कहाँ छ ?

 

साउन २५, काठमाडौं । शैक्षिक परामर्श ब्यवसायीहरुको गैरकानुनी धन्धा अझै रोकिएको छैन । सरकार, शिक्षा मन्त्रालय, नेपाल प्रहरी तथा कन्सल्टेन्सी ब्यवसायीहरु आफैं कन्सल्टेन्सी ब्यवसायको नाममा गलत काम गर्नेलाई कानुनी दायरामा ल्याउन प्रयासरत भइरहेको अवस्थामा केहि कन्सल्टेन्सीले अझै पनि गैरकानुनी प्रक्रिया अपनाइरहेका छन् । त्यसको पछिल्लो उदाहरण हो यो । 

काठमाडौंको एक कन्सल्टेन्सीले एउटै युवतीसँग नक्कली विहे गरेर ५ जनालाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै लाखाैं ठगी गरेको छ । राजधानीको पुतलिसडकमा रहेको क्वीन्सल्याण्ड कन्सल्टेन्सीले नक्कली विवाह गराएर श्रीमान–श्रीमतीका रुपमा अष्ट्रेलिया पठाइदिने भन्दै एउटै युवती देखाएर करिब आधा दर्जन युवालाई ठगी गरेको पाइएको छ । 

null

क्वीन्सल्याण्ड कन्सल्टेन्सीले बिद्यार्थी भिषामा अष्ट्रेलिया जान अयोग्य ६ जना युवालाई रेजिना नाम गरेकी युवतीसँग फरक–फरक समयमा कन्सल्टेन्सीमा भेटाएर रेजिनासँग अष्ट्रेलिया पठाइदिने भन्दै ६ लाखदेखि १५ लाखसम्म लिएको खुल्न आएको छ । प्रहरीका अनुसार कन्सल्टेन्सीले नै रेजिना नाम गरेकी युवतीलाई प्रयोग गरेर यस्तो धन्धा चलाएको हो । 

कन्सल्टेन्सी सञ्चालक मणि निरौलाले रेजिना नाम गरेकी युवती मास्टर्स पढ्न अष्ट्रेलिया जान लागेको, आइएल टेष्ट, अफर लेटर सबै आइसकेकोले उनैसँग नक्कली विवाह गरेर पठाइदिने भन्दै लाखौँ रुपैयाँ लिएको ती युवाहरुको भनाई छ । 

कन्सल्टेन्सीले ती युवाहरुलाई अष्ट्रेलिया जाने भन्दै युवतीसँग २ मिनेट कुरा गराउने र पैसा लिने गरेको छ । कन्सल्टेन्सी सञ्चालकले काम नभए पैसा फिर्ता गराउने भन्दै चेक समेत दिएका छन् । लगातार एक बर्ष देखि पैसा लिएर प्रोसेसिङ हुँदैछ, भन्दै झुलाएपछि शुक्रबार कन्सल्टेन्सीबाट पीडित व्यक्तिहरुले महानगर प्रहरी वृत सिंहदरबारमा कन्सल्टेन्सी र सञ्चालकविरुद्व उजुरी गरेका थिए । 

युवाहरुको उजुरी पछि प्रहरीले ती कन्सल्टेन्सी सञ्चालक निरौलालाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । पीडितहरुका अनुसार कन्सल्टेन्सी सञ्चालकले ४० जना भन्दा धेरैलाई यसरी डिपेन्डेन्ट भिषामा पठाइदिन्छु भन्दै पैसा लिएका छन् । उनले प्रति युवा ३ देखि १५ लाख सम्म उठाएको बुझिएको छ । 

कन्सल्टेन्सी क्षेत्रलाई मर्यादित र सभ्य बनाउन भनेर शिक्षा मन्त्रालयले नियमावली बनाइरहेपनि कार्यान्वयनमा आउन सकेको छैन भने, इक्यान, फेकन, आइरन, जाल्टन जस्ता नाम दिएर कन्सल्टेन्सी क्षेत्रको सुद्धिकरण गर्ने र ब्यवसायीक हक अधिकारका लागि काम गर्ने भनिएका संगठन हरुले समेत गैरकानुनी रुपमा मानव तस्करी गर्ने कन्सल्टेन्सीको नियमन गर्न सकिरहेका छैनन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *