स्पेनिस लालिगाः ग्रिजमन चम्कँदा बार्सिलोनाको पहिलाे जित
एजेन्सी। मुख्य फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज नभएको अवस्थामा यसै सिजन क्लबमा अनुबन्ध भएका एन्टोइन ग्रिजमनले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा पहिलो जित निकालेको छ ।
बर्सिलोनाले घरेलु मैदानमा रियल बेटिसमाथि ५–२ को फराकिलो जित निकालेको हो । बार्सिलोनाको फराकिलो जितमा एन्टोइन ग्रिजमनले दुई तथा कार्लेस पेरेज, जोर्डी अल्वा र आर्टुरो भिडालले समान १ गोल गरे । बेटिसका नविल फेकिर र लोरेन मोरनले गोल गरे ।
बार्सिलोना पहिलो खेलमा एथ्लेटिक विल्वाओसँग १–० ले पराजित भएको थियो । यस जितसँगै बार्सिलोनाले आफ्नो लय पक्रिएको संकेत दिएको छ । घरेलु मैदानमा बार्सिलोनाले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । क्याम्पनोउमा खेलको १५औं मिनेटमा नविल फेकिरले गोल गरेपछि बार्सिलोना पछि परेको थियो ।
४१औं मिनेटमा एन्टोइन ग्रिजमनले सर्जि रोवर्टाेको पासमा गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ५०औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पहिलोपटक खेलमा २–१ को अग्रता दिलाए । ५६औं मिनेटमा कार्लेस पेरेजले गोल गरेपछि बार्सिलोना जिततर्फ अग्रसर बन्यो । ६०औं मिनेटमा अल्वाले गोल गरेपछि बार्सिलोनाले खेलमा ४–१ को अग्रता बनायो ।
७७औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । ७९औं मिनेटमा लोरेनले गोल गरेपनि बार्सिलोना ५–२ ले विजयी हुन सफल भयो । जितसँगै बार्सिलोनाले दुई खेलबाट ३ अंक जोड्दै नवौं स्थानमा रहेको छ । अंकविहीन रियल बेटिस पुछारमा छ ।
आइतबार राति नै भएको अर्काे खेलमा एट्लेटिको मड्रिडले लेगानेसमाथि १–० को कठिन जित निकालेको छ । एट्लेटिकोको जितमा भिटोलोले ७१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै एट्लेटिको दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंकविहीन लेगानेस १९औं स्थानमा छ ।