किन लगाइन्छ जनै ?
साउन ३०, काठमाडौं । हिन्दुहरुको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणीपूर्णिमा (जनैपूर्णिमा) का दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ ।
ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबैको आ–आफ्नो जाति, धर्म आस्था हुन्छ । विशेषगरी ब्राह्मण, क्षेत्री, वैश्य यी तीन जातिसँग धार्मिक रुपमा जनै पूर्णिमा अर्थात ऋषी तर्पणी पूर्णिमा जोडिएको पाइन्छ । यद्यपी पछिल्लो समयमा अधिकांश हिन्दु धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् । वर्षमा एकचोटी आउने यो पर्व श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।
null
यो दिन रक्षाबन्धन (धागो) बान्ने, श्रावणी कर्म गर्ने र ऋषितर्पणी कर्म गर्ने, नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गर्ने शास्त्रीय मान्यता छ । हिन्दु धर्मावलम्बिमा जन्मिएका बालक ७ वर्ष, ९ वर्ष, ११ वर्ष र १३ वर्षको उमेरमा व्रतबन्ध गरिन्छ । ब्रतबन्धपछि बल्ल उसले यज्ञोपवीत धारण गर्ने अर्थात जनै लगाउने परम्परा रहेको छ ।
हिन्दूहरुको १६ संस्कारहरुमध्येको यज्ञपवित धारण संस्कार एकदमै महत्वपूर्ण हुन्छ । त्यो यज्ञपवित धारण गरिसकेपछि जुनसुकै व्यक्ति पनि घर गृहस्थमा परिपक्व हुन्छ । उसको धार्मिक कर्महरु चल्न थाल्छन् र उसले गरेका कर्महरु भगवानमा समर्पण हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ ।
हिन्दु संस्कार गरिसकेपछि उसले वर्षैपिच्छे जनै परिवर्तन गर्नुपर्ने हुन्छ । आफ्नो आत्मरक्षाको लागि, आफ्नो धर्मको लागि उसले जहिल्यै यज्ञोपवीत धारण गर्नैपर्ने शास्त्रीय नियम छ । बीचमा असहजहरु पर्यो, त्यस्तो केही समस्याहरु आयो या जुठो, सुतकहरु पर्यो भने परिवर्तन गर्नैपर्छ । यदी त्यस्तो भएन भने पनि तीन–तीन महिनामा त्यसलाई परिवर्तन गर्नैपर्छ भन्ने मान्यता छ । अभिमन्त्रित गरेर राखिएको जनैलाई आवश्यकता परेको बेलामा लगाउन सकिन्छ । तर, विशेष तः जनैपूर्णिमा अनिवार्यरुपमा जनै परिवर्तन गर्नै पर्ने धार्मिक मान्यता छ ।
जनैमा खासगरी शास्त्रीय मान्यता अनुसार श्रावणी कर्महरु हुन्छन् । ऋषिहरुलाई तर्पण दिइन्छ । नौ वटै धागोमा देवीदेवताको आह्वान हुन्छ, पूजा हुन्छ । त्यसमा पञ्चशिखा हुन्छ । पञ्चशिखामा ब्रह्मा, विष्णु, महेश्वर, गायत्री मन्त्रद्वारा अभिमन्त्रित हुन्छ । सबै विधिद्वारा त्यसलाई अभिमन्त्रित गर्ने भनेकै जनैपूर्णिमाको दिन नै हो । अन्य समयमा जनैको अभिमन्त्रित गर्नु उपयुक्त मानिदैन ।
यसरी बनाइन्छ जनै
काँचो धागोलाई तेब्बर बनाएर त्यसलाई पनि तीन सरा बनाएर नौ वटा काँचो धागो बराबरको एउटा धागो बनाइएको हुन्छ । फेरि नौ गुणन ६ गरेर जम्मा ५४ सराको एउटा जनै निर्माण हुन्छ । त्यो एउटा जनैभित्र पनि पाँच–पाँच शिखा हुन्छन् । विशेषगरी हामीले धारण गर्ने जनैमा पाँच वटा शिखाः ब्रह्मा, विष्णु, महेश र गायत्रीसहित अन्य देवी देवताहरुको पूजा हुन्छ । यसमा ६ वटा डोराको जुन जनै हुन्छ , त्यसमा १० वटा देवताहरुको प्राण प्रतिष्ठा हुन्छ । पूजा गरेर त्यसलाई धारण गरिन्छ । १० वटामा पहिलो धागो ओमकार, दोस्रो अग्नी, तेस्रो नाग, चौँथो चन्द्रमा पाँचौँ पितृ, छैठौँ ब्रह्मा, सातौँ वायु, आठौँ सूर्य र नौवौँ सरामा सबै देवी देवताहरुको पूजा हुन्छ ।
त्यो जनै धारण गर्नुभन्दा पहिले सप्तर्षीहरुलाई तर्पण दिने शास्त्रीय विधान हुन्छ । श्रावणी कर्म गरिन्छ । अघिल्लो दिन एकछाकि बसेर, कपाल खौरिएर, सात्विक कुराहरु मात्रै खाएर भोलिपल्ट श्रावणी कर्म गरिसकेपछि यज्ञपवित अर्थात् जनै शास्त्रीय विधान अनुसार धारण गरिन्छ ।
कहाँ गएर लगाउने ?
नजिकैको खोला, नदी, तलाउ, समुद्र, किनार जहाँ आफूलाई पायक पर्छ, त्यहीँ गएर श्रावणी कर्म गरिन्छ । यसको विधि हुन्छ । खोलामा गएर विभिन्न स्नानहरुः माटो स्नान, भस्म स्नान, गोबर स्नान, गहुँत स्नान, ऋषितर्पण लगायत श्रावणी कर्म गरिसकेपछि अभिमन्त्रित गरी जनै धारण गर्ने हो । यो भरसक नदी खोला तलाउ, शिवालय लगायत धार्मिक ठाउँमा गएर लगाउने प्रचलन छ ।
जनै लगाउने बिहान गोबरले, गहुँतले नुहाएर मात्रै चोखो भइन्छ भन्ने होइन । यो विशेष आस्थासँग जोडिएको छ । हामीले नुहाएर आफूसँग भएका नराम्रा कुराहरु फालेर मन सफा राख्न सक्यौँ भने अझै राम्रो हुन्छ । पुरानो यज्ञोपवीतमा जनैसँगसँगै हाम्रो मनमा भएका पुराना जतिपनि नराम्रा कुराहरुः रिस, काम, क्रोध, लोभ, मोह, इष्र्या छन् तीनलाई त्याग गरीे सकारात्मक सोचको संकल्प यस्ता संकल्प गर्ने दिन पनि हो आज । यस्तो गर्न सक्यौँ भने मात्रै जनैपूर्णिमा सार्थक हुन्छ ।
त्यस्तै रक्षाशुत्र (जनैपूर्णिमाका दिन हातमा बाँधिने डोरो) मा पनि सबै देवीदेवताहरुको आह्वान हुन्छ । पूजा हुन्छ । त्यसरी पाठपुजा गरिएको रक्षाशुत्र हामीले बाँध्यौँ भने सबै प्रकारबाट रक्षा हुने शास्त्रीय मान्यता छ ।
हाम्रो नेपाली परम्परामा जनै पूर्णिमाको दिन बाँधिएको रक्षा डोरो लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा बाँध्ने प्रचलन चलिआएको छ । यो शास्त्रीय कुरा होइन, प्रचलन, लोकाचार मात्रै हो । गर्नैपर्छ भन्ने छैन । भरसक लगाइराख्ने हो रक्षा डोरो । तर जुन दिन हामीलाई असजिलो हुन्छ, सफा राख्न सकिँदैन त्यो दिन फुकाउँदा हुन्छ ।
‘अहिले दिदीबहिनीहरुले दाजुभाईलाई पनि डोरो बाँधिदिने प्रचलन छ । जसलाई राखी भनिन्छ । यो भारतीय प्रचलन हो । भारतबाट भित्रिएको परम्परा हो । हाम्रो नेपाली समाजमा ठुलाबडा, मान्यगन्य गुरुहरुले डोरो बाँधिदिने प्रचलन छ ।’
यो दिन क्वाँटी पनि खाइन्छ । क्वाँटीको विशेषता अलि फरक छ । श्रावण महिनाभरी दूध नखानु, भगवानलाई अर्पण गर्नु भन्ने शास्त्रीय मान्यता छ । गेडागुडी पनि भरसक नखानु भनिन्छ श्रावण महिनामा ।
पूर्णिमाबाट श्रावण सकियो, अब स्वास्थ्यवद्र्धक कुराहरु दुधदेखि लिएर अन्य पोषिलो कुराहरु खानु हुन्छ है भन्ने एक प्रकारको संकेत हो । क्वाँटीमा भिटामिन बढी हुने, शरीरमा तागत आउने भएका कारण खाइन्छ । एकमहिनादेखि नखाइ बसेको यो दिनदेखि खान हुन्छ है भन्ने खालको प्रचलन मात्रै हो । त्यस्तो विशेष केही होइन ।
(ज्यो.प.नारायणप्रसाद दुलालसँग मकालु खबर संवाददाता द्वारिका नेपाल (सृष्टि)ले गर्नु भएको कुराकानीमा आधारित)