अरुणखोला पुलमा क्षति पुगेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 

साउन २९, कावासोति । नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा बुधबार (आज) बिहान ४ बजेको समयमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा पुल एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले बताए । ट्रकसमेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको उनले बताए । 

null

ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुने उनले बताए । बिहान पुलमा क्षति पुगेपछि अहिले यात्रुवाहक बससमेत रोकिएका छन् । 

प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारे पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाईसमेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ । 

प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि भनिएको छ । 

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ । साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *