गोकर्णेश्वरमा भक्तजनको भीड (फोटो फिचर)
भदौ १३, काठमाडौँ । भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत
पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ ।
बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि आज बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको हो । विगत वर्षभन्दा यसपटक गोकर्णेश्वरमा व्यवस्थित रुपमा मन्दिरमा दर्शन एवं परिसरमा श्राद्ध गर्ने व्यवस्था मिलाउन सकिएको व्यवस्थापन पक्षले जनाएको छ ।
पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासमा देशका विभिन्न भागबाट आएका भक्तजनको बिहीबारदेखि भीड लागेको मन्दिरका पुजारीले बताए । कति भक्तजन बिहीबार बेलुकी नै मन्दिर परिसरमै आई बसेका थिए ।
बिहीबारदेखि नै भक्तजनको भीड लागेपछि जोरपाटीबाट माथितिरको यातायात सञ्चालन भएको छैन । यसैगरी वाग्मतीको किनारमा रहेको पशुपतिनाथ मन्दिर, शङ्खमूल, टेकुलगायत स्थलमा पनि दिवङ्गत पिताका नाममा श्रद्धा भक्तिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।
तस्बिरः अप्सरा अधिकारी