६ करोड रकम लिएर फरार भएका सहकारीका अध्यक्ष विक पक्राउ

 

साउन ३०, धरान । सहकारीको करोडौं रकम ठगी गरी फरार रहेका धरानको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका विकले करिब ६ करोड ३ लाख भन्दा बढी रकम लिई गत असार २३ गते देखि फरार रहेका थिए । बुटवल उपमहानगरपालिकाबाट साउन २८ गते पक्राउ परेका बिकलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

null

बुटवलको एउटा कोठा भाडामा लिएर लुकीछुपी बस्दै आईरहेका बिकलाई विशेष सुराकीको आधारमा सोमबार राती पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । 

पक्राउ परेका विक बसेको बुटवलको कोठामा खानतलासी गर्ने क्रममा सुनजस्तो देखिने १६३.२९६ ग्राम (अन्दाजी १४ तोला) चाँदीजस्तो देखिने धातु २७९.९३६ (अन्दाजी २४ तोला), मोबाइल फेला पारेको प्रहरीले जनाएको छ । 

शिखर सगरमाथा ज्वेलरीका सञ्चालक समेत रहेका बिकले फरार भएकै बेला उनको नाममा रहेको घर असार २७ गते १ करोड ५३ लाखमा पूर्व बाणिज्यमन्त्री तथा सांसद मीन विश्वकर्माकी सालीको नाममा नामसारी गरिए पछि उनी थप शंकाको घेरामा थिए । 

यसअघि सहकारीका प्रबन्धक मोहन दर्नाल र लेखापाल कमलादेवी लाई पक्राउ गरेको हो । कमलादेवीलाई भैरहवा जाने क्रममा काठमाडौंको नागढुङ्गामा गत साउन ११ गते नै पक्राउ गरिएको थियाे । 

विक फरार भए लगतै इलाका प्रहरी कार्यालय धरानमा ६५ जना पीडितले करिब ५ करोड ६८ लाख रुपैयाँ माग दाबीसहित उजुरी दिएका थिए जस मध्ये दुई सडकमा मागी खाने व्यक्ति रहेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *