कमल थापाले चिनेनन् कलाकार…

भदौ १, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले दिवंगत वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधनमा आफूले श्रद्धाञ्जली व्यक्त गर्दा गम्भीर त्रुटी भएको भन्दै क्षमायाचना गरेका छन् ।
यसअघि सामाजिक सञ्जाल ट्वीटरमा श्रद्धाञ्जली व्यक्त गर्दा अध्यक्ष थापाले कलाकारको परिचय (नाम) सुभद्राका ठाउँमा बसुन्धरा भुसाल उल्लेख गरेका थिए । उनले कलाकारको परिचय भुलेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो । यसैबीच उनले क्षमायाचना गर्दै नाम सञ्चाएका हुन् ।
अभिनेत्री अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको थियो । ७२ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो।

उनका १ छोरा र छोरी छन् । दर्जनौँ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्।








