चेपाङ बालबालिकाको भविष्य खोज्दै केपी, तर खाद्यान्न चुनौती

साउन २५, चितवन । पत्रकारिता क्षेत्रमा समेत क्रियाशील रहेका वेला चेपाङ बालबालिकाको शिक्षामा खटिएका चितवनका केपी किरण शर्मालाई नचिन्ने विरलै होलान् । 

उनले चेपाङ बालबालिकाको शिक्षाका लागि गामवेशीको चेपाङ संरक्षण केन्द्र सञ्चालन गरेर आवासीय सुविधासहित अध्ययन गराई रहेका छन् । जसकै कारण उनी अहिले देश विदेशमा चिनिएका छन् । चितवनको पहाडी भेग जहाँ सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको छ । ७ वर्ष दुबईमा रोजगारी गरेर फर्की चेपाङको हितमा लाग्ने अठोट लिई उनले गामवेशीको खबर पत्रिका सञ्चालन गर्न सुरु गरे । 

 

null

पहिलो अङ्ककै चेपाङका विषयले प्राथमिकता पायो । चेपाङ बस्ती घुमेका उनले त्यहाँ समस्याका चाँग देखे र उनको ध्यान चेपाङ बालबालिकालाई शिक्षा दिनु पर्छ भन्नेमा केन्द्रित भयो । २०६५ सालमा साउनमा स्वदेश फर्किएका शर्माले पत्रकारितामार्फत सीमान्तकृत जाति चेपाङहरूको कथा–व्यथा उजिल्याउनका साथै भौगोलिक विकटता र खाद्यान्न अभावका कारण शिक्षाबाट वञ्चित रहेका चेपाङ बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउने प्रयासको थालनी गरे । उनले २५ जना चेपाङ बालबालिकालाई पिठुवामा रहेको तत्कालीन विन्देश्वर निमाविमा अध्ययन सुरु गराए । 

 

आर्थिक हिसाबले सामान्य परिवारका शर्माले सहयोग जुटाएर चेपाङ बालबालिकालाई पढाएका हुन् । त्यसपछि रत्न नगर १३ जयमंगलामा थप बालबालिका ल्याएर आफ्नो अभियानलाई विस्तार गरे । व्यक्तिको घरमा राखेर पठनपाठन सम्भव नभएपछि केपी किरणले रत्न नगर–११ मङ्गलपुरमा गामबेँसीको चेपाङ संरक्षण केन्द्र स्थापना गरी आवासीय सुविधा दिएर पठनपाठनमा लागे । स्थानीय पञ्च तेज ज्योति आधारभूत विद्यालयको जग्गामा टहरो निर्माण गरेर आश्रम बनाए । अहिले केही भौतिक संरचनाले प्रगति गरेको छ । तर खाद्यान्न अभावको चरम अभावका बिच संरक्षण केन्द्र गुज्रिरहेको छ । दिगो आर्थिक श्रोत नहुँदा खाद्यान्न अभाव हुँदै आएको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष समेत रहेका केपी किरण शर्माले बताए । 

 

दैनिक सहयोग सङ्कलन गरेर चेपाङ बालबालिकालाई आवासीय सुविधासहित अध्ययन गराइरहेको केन्द्रमा अहिले चरम खाद्यान्न अभाव भएको शर्माको भनाई छ । केन्द्रमा अहिले १६५ जना बालबालिका रहेका छन् । चितवन,मकनवापुरका चेपाङ बालबालिका यहाँ आवाससहित अध्ययन गरिरहेका छन् । उनीहरूका लागि एक दिनमा ९० किलो चामलको आवश्यकता पर्छ । त्यही अनुपातमा दाल,तरकारी पनि । प्रयाप्त सहयोग नजुटेका कारण अहिले दैनिक गुजारा चलाउन मुस्किल परेको अध्यक्ष शर्माले बताए । भएको सबै खाद्यान्न सकियो उनले भने – यी बालबालिकाको भोक टार्न हार गुहार गरिरहेको छु । 

छुटफुट सहयोग आइरहेको भए पनि त्यो प्रयाप्त नभएको उनले बताए । बालबालिकाको सङ्ख्या धेरै छ , उनले भने – सानो परिमाणको खाद्यान्नले धान्न मुस्किल भयो । संरक्षण केन्द्रमा अध्ययन गरेका मध्ये अहिले एक जना छात्र सिभिल इन्जिनियर अध्ययन गरिरहेका छन् भने एक छात्रा स्टाफ नर्स सकेर जागिरको तयारीमा छिन् । संरक्षण केन्द्रमा खाद्यान्न अभाव रहेको थाहा पाएपछि लायन्स क्लब अफ सौराहाले शनिवार खाद्यान्न सहयोग गरेको छ । 

क्लबका अध्यक्ष शिरलाल परियारको नेतृत्वमा क्लबका पदाधिकारी र सदस्यहरू संरक्षण केन्द्र पुगी १५ दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरेको केन्द्रका अध्यक्ष शर्माले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *