मन्त्री महासेठको दाबीः ‘विश्वका १७० देशलाई पछि पार्दै नेपाल टप पोजिशनमा पुग्यो’

 

काठमाडौं, २७ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भैरहेको बताएका छन् । अहिले आर्थिक वृद्धिको दर र विकास निर्माणको दृष्टिकोणले वर्तमान सरकार विकाससिल देशहरुमध्ये डेढ सय देशहरुलाई पछाडि पार्दै अगाडि बढेको मन्त्रीको दावी छ । 

सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले आर्थिक समृद्धिमा नेपाल विश्वका १७० देशलाई पछि पार्दै टप पोजिशनमा आएको जिकिर गरेका हुन् । ‘आज हामी अन्तर्राष्ट्रिय पत्रपत्रिकार हेरौं, विकाससिल देशहरुले यो तर, हामीले धेरै गरिसक्यौं भन्नेपनि होईन, भर्खर पाईला टेक्दै गरेको अवस्थामा हिजोको भन्दा धेरै राम्रो काम गरेका छौं ।’ उनले भने । उनले वर्तमान सरकारले विकास र समृद्धिको मामिलामा फड्को मारेको दाबी गरेका छन् । ‘यो सरकारले विकास र आर्थिक वृद्धिमा ठूलो फड्को मारेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराअनुसार नै अघि बढिरहेका छौं ।’ सरकारले आगामी साँढे तीन वर्षभित्र नेपालले दोहोर अंकको आर्थिक वृद्धि हाँसिल गर्ने महासेठको दाबी छ । 

null

महासेठले भौतिक पूर्वाधारलगायतका विकास निर्माणका कामपनि रेकर्ड नै ब्रेक गर्नेगरि भएको सुनाए । ‘हामी दश वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक बनाउँछौं । त्यस्तै २८ सय किलोमिटरको रेलमार्गले जोड्छौं ।’ उनले विद्युतीय रेलमार्ग निर्माणको कामपनि धमाधम भैरहेको बताए । उनले भने,‘पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम हामी तीन वर्षभित्र सम्पन्न गरिसक्छौं । अहिले डिपिआर सम्पन्न भैसकेको छ । रेलमार्गको निर्माणमा पनि फड्को मारेका छौं ।’ मन्त्री महासेठले सडकको अवस्थामा पनि धेरै राम्रो काम भैरहेको सुनाए । 

मन्त्रीका अनुसार असार २४ गतेसम्म ९ सय १५ किलोमिटर बराबरको ६, ४ र २ लेनका नयाँ पिच सडकहरु निर्माण भइसकेको छ । उनका अनुसार अघिका सरकारको पालामा एक वर्षमा १ सय २५ किलोमिटरमात्रै सडक बन्थे । एक सयभन्दा बढि पुल निर्माण हुँदैन थिए, तर यो सरकारले एक वर्षमा २४३ पुल बनाईसकेको छ । उनकाअनुसार अहिले ११ सय किलोमिटरको ग्राभेल सडक र ३ सय १० किलोमिटरका माटे सडक पनि निर्माण भैसकेका छन् । 

मन्त्री महासेठले काठमाडौंको बाटो, घाटो, धुलोलगायतका अवस्थामा पनि पहिलेभन्दा अहिले सुधार आएको दाबी गरे । यद्यपी केही सडकहरुले भने आफूहरुलाई अहिलेपनि आलोचनाको पात्र बनाएको उनको स्पष्टोक्ति थियो । ‘कलंकी–नागढुंगा सडक, चावहिल–साँखु सडकका कारण हामी आलोचनाको शिकार भयौं । तर, अब हामी द्रुत गतिमा काम गरिरहेका छौं । खानेपानीको कारण सडक बनाउन अप्ठ्यारो भएको थियो । अहिले खानेपानीको कामपनि आफैं गर्नेगरि बोलपत्र आह्वान गर्न लागेका छौं । यो आर्थिक मसान्तभित्रै सबै काम सम्पन्न गरिसक्छौं ।’ उनले भने । 

उनले काठमाडौंलाई सुन्दर सहर बनाउनेगरि काम गरिरहेको विश्वास दिलाए । कोटेश्वर, गौशाला, थापाथली लगायतमा ‘ओभरहेड ब्रिज’ बनाउन लागिएको पनि उनले सुनाए । काठमाडौंमा स्मार्ट ट्राफिक लाईटहरु राख्ने पनि जनाए । यो वर्ष सरकारको पहिलो आधार वर्ष भएकोले जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको उनले स्विकारे । 

मन्त्री महासेठले यो आर्थिक वर्षको अन्तिमतिर अर्थात ११ महिनापछि काठमाडौंवासीले सुन्दर काठमाडौं उपहार पाउने बताए । ‘काठमाडौंमा भएका पुलहरुलाई व्युटिफिकेशन गर्ने, सिग्नेचर ब्रिजहरु बनाउनेलगायतका काम हुँदैछ ।’ उनले भने । त्यस्तै, रिङ–रोड विस्तारको कामपनि यही वर्षभित्र हुने महासेठको भनाई छ । देश समृद्ध रातारात नहुने बताउँदै सिंगापुर, चीनलगायतका देशलाई पनि अहिलेको अवस्थामा आईपुग्न दशकौं समय लागेको उनले स्मरण गराए । 

महासेठले वर्तमान सरकार पाँच वर्षसम्मको लागि भएकोले यो अवधिभित्र देशलाई समृद्ध बनाउनेगरि काम गर्ने स्पष्ट पारे । विकास निर्माण र पूर्वाधार विकासमा विशेष योजनाका साथ काम भैरहेको उनको भनाई छ । उनले आगामी दुई वर्षभित्र आफ्नै झण्डा र लोगो भएको पानीजहाजपनि सञ्चालनमा ल्याईने दाबी गरे । क्रस–बोर्डर रेलहरुपनि छिट्टै सञ्चालनमा ल्याईने बताए । 

 

मन्त्री महासेठले यही वर्षको फागुनबाट विराटनगरबाट क्रसबोर्डर रेल सञ्चालनमा आउने जनाए । जयनगर–जनकपुर–बर्दिवासको ५२ किलोमिटर रेलपनि छिट्टै सञ्चालनमा आउने उनको विश्वास छ । यो बीचमा सडक सुरक्षा, यातायात प्राधिकरणलगायतका ऐनहरु संसदमा पेश गरिएको उनले सुनाए । 

उनले वर्तमान सरकारले कृषि क्षेत्रमा पनि उल्लेखनीय काम गरेको दाबी गरे । उनले भारत, चीन, ईजरायलसँग कृषिसम्बन्धी विशेष सम्झौता भएकोले नेपालको कृषि क्षेत्रले पनि अब फड्को मार्ने बताए । बाढि, पहिरो र डुवानको समस्याको सवालमा पनि सरकार बेलैमा सचेत रहेकोले पूर्वाधारको क्षेत्रमा कम क्षति भएको उनको दाबी छ । ‘हामी सचेत थियौं, त्यही भएर दुई दिनभन्दा बढि कतैपनि यातायात आवागमन अवरुद्ध भएन् ।’ पहिरोको कारण खुर्कोट–घुर्मी सडक खण्डमा केही समस्या भएपनि दुई दिनभन्दा बढि सडक अवरुद्ध नभएको उनको स्पष्टोक्ति थियो । 

देशमा अब राजनीतिक एजेण्डा समाप्त भएकोले अब आर्थिक समृद्धिको एजेण्डामा सबै दलहरुबीच सहमति, सहकार्य र एकता हुनुपर्ने उनको जोड छ । ‘हामी प्रतिपक्षीलाई पनि सहमति र विश्वासमा लिएर अघि बढिरहेका छौं ।’ उनले भने । उनले सरकारले गरेका राम्रा कामको सबैले समर्थन र सहयोग गर्नुपर्ने बताउँदै गलत गरे त्यसको विरोध र आलोचना गर्दा आफुहरुलाई स्विकार्य हुने बताए । ‘अहिले कांग्रेससँग राजनीतिक एजेण्डा छैन । सरकारले संसदीय समितिमा छलफल गरेर ल्याएका विद्येयकहरुमा पनि कांग्रेसले विरोध गर्यो ।’ उनले सरकारका राम्रा काममा प्रतिपक्षीले पनि रचनात्मक सहयोग गर्नुपर्ने धारणा राखे । 

उनले यातायात क्षेत्रमा पनि धेरै सुधारका काम भएको उनको दाबी छ । यातायात क्षेत्रको सिण्डिकेट पूर्ण रुपमा अन्त्य भएको र अहिले संघ, संस्थाहरु कम्पनीमा आईसकेको महासेठले बताए । उनले यात्रा, अपांग, ज्येष्ठ नागरिक, बालमैत्री बस सञ्चालन गर्न लागिएको सुनाए । त्यसको लागि तीन सय वटा विद्युतीय बस खरिद गर्न लागिएको र साझा यातायातलाई तीन सय करोड भुक्तानी दिईसकिएको पनि उनले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *