राप्तीमा ढलान बाटोको आकर्षण, एक वर्षमा साढे ५ किमी निर्माण

 

साउन २६, चितवन । पिच गरेको सडक टिकाउ नभएपछि राप्ती नगरपालिकाले आरसिसि ढलान गरेर बाटो निर्माणलाई जोड दिएको छ । 

उपभोक्ताको समेत माग नै आरसिसि ढलान तर्फ रहेकाले सोही अनुसार निर्माणको काम भएको नगरपालिकाले जनाएको छ । 

null

आर्थिक वर्ष २०७५÷०७६ को आइतबार आयोजित समिक्षा गोष्ठीमा गत वर्ष ५ किलोमिटर, ५ सय मिटर बाटो आरसिसि ढलान गरिएको नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर अर्जुन पौडेलले जानकारी दिए । 

नगरको तल्लो वडाहरुको डुबान क्षेत्रमा यस्तो बाटो बनाईएको छ । डुबानका कारण पिच सडक छोटो समयमै भत्कने समस्या देखिएपछि आरसिसि ढलान गरिएको पौडेलले बताए । पिचभन्दा आरसिसि ढलानको बाटो टिकाउ हुने उनको विश्वास छ । 

५ किमी, ५ सय मिटर ढलान बाटोका लागि ८ करोड ६५ लाख रुपैयाँ खर्चिएको छ । गत वर्षको योजनामा ४० वटा बाटो आरसिसि ढलान गरिएको छ । पिचको भन्दा लागत केही बढि लाग्ने भएपनि टिकाउ हुने योजना शाखा प्रमुख पौडेलले बताए । 

गत वर्ष ३ किलोमिटर ५०० मिटर पिच,५ सय मिटर मोजाईक टायल राख्ने काम भएको उनले जानकारी दिए । 

गत आर्थिक वर्षमा २८ किलोमिटर उच्चस्तरीय ग्रावेल गरिएको छ । ५४ किलो मिटर नयाँ बाटो निर्माण र सडक चौडा गर्ने काम भएको नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् । बाटोको अलावा भौतिक संरचना निर्माण तर्फ पक्की नाला, विद्यालय निर्माण तथा मर्मत, सिसिटिभी जडान, पर्यटन क्षेत्रमा संरचना निर्माण, खोला तटवन्धन लगायतका काम प्रभावकारी रुपमा भएको मेयर वरालले बताइन् । 

समिक्षा गोष्ठीमा शाखा प्रमुखहरुले आआफ्नो शाखाले गत १ वर्षमा गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए । 

राप्ती नगरपालिकाले गत वर्ष बाटो निर्माणसंगै शिक्षा, पर्यटन, कृषिको क्षेत्रलाई समेत प्राथमिकता दिएर काम गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईले बताए । समिक्षा गोष्ठीमा नगर कार्यपालिका सदस्य, राजनितिक दलका नगर प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *