साफ यू–१५ च्याम्पियनसिपः नेपालको सानदार जित, बंगलादेश ४–१ गोलले पराजित

साफ यू–१५ च्याम्पियनसिप अन्तर्गतको समूह चरणको तेस्रो खेलमा नेपालले सानदार जित निकालेको छ । बंगलादेशलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालको जितमा कृष्ण यादवले २ तथा सुगन जिमी र प्रदीप लम्सालले १–१ गोल गरे । पहिलो हाफको इन्जुरी समयमा कृष्णको गोलमा नेपालले सुरुवाती अग्रता लिएकोमा ५२ औं मिनेटमा सुगन अर्को गोल गर्दै अग्रता दोब्बर पारे ।
७९ औं मिनेटमा बंगलादेशका मियाले अग्रता घटाएपछि त्यसको केही मिनेटमा नै प्रदीपले ३–१ ले अगाडि बढाए । खेलको २ मिनेट समय बाँकी रहँदा कृष्णले गोल गर्दै नेपालका लागि ४ गोल बनाए भने यो गोलसँगै नेपालले ४–१ गोल अन्तरले फराकिलो जित हासिल गर्यो ।
जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश र नेपालको समान ६–६ अंक भएपनि हेड टु हेडमा नेपाल अगाडि रहेको छ । लगातार तेस्रो जित दर्ता गरेको भारत शीर्षस्थानमा छ । भारतले मंगलबारको खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको थियो । पहिलो खेलमा भारतसँग ५–० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित दर्ता गरेको थियो ।
null
बिहीबार नेपालले अन्तिम खेल भुटानसँग खेल्ने छ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।








