चितवनको शिक्षा सुधारको लागि स्थानीय सरकार एकजुट,१९ बुँदे सौराहा घोषणा पत्र जारी

 

साउन २७, चितवन । चितवनको शैक्षिक गुणस्तर सुधारको लागि जिल्लाका सात स्थानीय तह एकजुट भएका छन । 

रत्ननगर नगरपालिकाले आयोजना गरेको शिक्षाको व्यवहारिक तथा कानुनी पक्षमा देखिएका चुनौति र सामधान विषयक अन्तक्रिया कार्यक्रम पछि सात स्थानीय तहले शिक्षाको सुधारको लागि एकजुट हुने निर्णय गरेका हुन । शिक्षाको गुणस्तर सुधार गरी सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न १९ बुँदे सौराहा घोषणा पत्र जारी गरेका छन । 

null

जिल्लाको शिक्षाको विकासको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण २०७३ का आधारमा शिक्षा नीति र सोका आधारमा शिक्षा ऐन, नियमावली र कार्यविधि निर्माण गर्ने सहमति भएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए । 

सौराहा घोषणापत्र तथा प्रतिबद्धता पत्रमा सात वटै स्थानीय तहले आफ्नो पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत तथा धार्मिक प्रकृतिका विद्यालयको विद्यालयगत अभिलेख (अनुमति, स्वीकृति, दरबन्दी संख्या) व्यवस्थित गर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र सहयोगी कर्मचारीको व्यक्तिगत अभिलेख तयार गर्ने सहमति भएको मेयर वनले जानकारी दिए । 

घोषणापत्रमा करारमा शिक्षक, कर्मचारी, बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र सहयोगी कर्मचारी नियुक्तिको अनुमति प्रदान गरी अभिलेख राख्ने,स्थानीय शिक्षा ऐन र नियमावलीका आधारमा आफ्नो पालिका भित्र र अन्तर स्थानीय तहतथा अन्तर जिल्लाशिक्षक सरुवा गर्ने र सोको जानकारी सम्बन्धित निकायमा पठाउने, विभिन्न स्रोतबाट गाउँ र नगर शिक्षा कोषमा रकम जम्मा गरी शैक्षिक गुणस्तर र समतामूलक पहुँचका लागि कोष व्यवस्थापनको कार्यविधि निर्माण गरी खर्च गर्ने उल्लेख छ । 

घोषणापत्रमा पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी पुनः नक्शाङ्कन गरी आवश्यक विद्यालयको संख्या निर्धारण गरी सोही आधारमा विद्यालय गाभ्ने वा थप्ने तथा दरबन्दी मिलान गर्ने र सोको जानकारी सम्बन्धित निकायमा पठाउने, पालिका भित्रका सामुदायिक विद्यालयमा उपलब्ध भएका शिक्षक दरबन्दी विषयगत रुपमा मिलान गर्ने, संस्थागत विद्यालयले प्रदान गर्न पर्ने दश प्रतिशत छात्रवृत्तिलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने स्थानीय तहहरुले सहमति गरेका छन । 

स्थानीय तहभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई विषय र विज्ञताका आधारमा एकभन्दा बढी विद्यालयमा घुम्ती शिक्षकका रुपमा अध्यापन गर्ने व्यवस्था मिलाउने, सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धी सुधारका लागि प्र.अ. ले शिक्षा शाखा प्रमुखसँग शिक्षकले प्र.अ.सँग वार्षिक रूपमा कार्यसम्पादन करार गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ । 

सामुदायिक विद्यालयका स्थायी शिक्षकको असाधारण र अध्ययन विदा तथा राजिनामा स्थानीय तहले स्वीकृत गरी सेवा सुविधाका लागि सम्बन्धित निकायमा लेखी पठाउने व्यवस्था गर्न संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रतिनिधि मण्डलले पहल गर्ने, चितवन जिल्लाभरि कक्षा ५ को एउटै सिकाइ उपलब्धी परीक्षा लिने, कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षा सञ्चालनका लागि जिल्लाभरिको साझा प्रश्न संग्रह तयार पारी उपयोग गर्ने व्यवस्था मिलाउने, भरतपुर महानगरपालिका अन्तर्गत चितवन मा. वि. को हातामा रहेको साविक शैक्षिक तालिम केन्द्रको भवनलाई प्रदेशको शिक्षा विकास निर्देशनालय मातहत राखी चितवनका सबै स्थानीय तहका शिक्षक तथा सहयोगी कार्यकर्तालाई तालिम दिने हवका रुपमा विकास गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको घोषणा पत्र निर्माण समिति संयोजक एवंम् खैरहनीका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले वताए । 

त्यसैगरी सबै स्थानीय तहले आगामी शैक्षिक सत्र देखि सामुदायिक विद्यालयमा तथा समुदायमा आधारित बाल विकास केन्द्र र कक्षा १ मा अध्ययनरत बालबालिकालाई आन्तरिक स्रोतबाट क्रमशः दिवा खाजाको व्यवस्था गर्ने, संघीय तथा प्रदेश सरकारबाट विद्यालयको भौतिक निर्माणका लागि प्राप्त हुने शर्त अनुदान स्थानीय आवश्यकता अनुसार नयाँ भवन निर्माण तथा मर्मत, शौचालय निर्माण, घेराबार तथा मर्मत कार्य लगायतमा खर्च गर्न पाउने गरी व्यवस्था गर्न संघीय र प्रदेश सरकारलाई अनुरोध गर्ने घोषणापत्र मार्फत स्थानीय तहले प्रतिबद्धता जनाएका छन । 

त्यसैगरी विद्यालयको अनुगमनका लागि शिक्षा समितिका अतिरिक्त सम्बन्धित वडाका अध्यक्षलाई जिम्मेवार बनाई त्रैमासिक रुपमा प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाउने र प्रतिवेदनमाथि शिक्षा समितिमा छलफल गरी कार्यान्वयनमा लैजाने,सबै स्थानीय तहले वार्षिक रुपमा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको शैक्षिक प्रदर्शनी आयोजना गरी पुरस्कृत गर्ने व्यवस्था मिलाउने र पालैपालो अन्तर स्थानीय तह प्रदर्शनीको समेत आयोजना गर्ने घोषणपत्रमा उल्लेख रहेको छ । 

प्रतिबद्धता कार्यान्यनको लागि सम्बन्धित पालिकामा नगर प्रमुख संयोजक र प्रमुख प्रशासकीय अधिकृत सदस्य र शिक्षा अधिकृत सदस्य सचिव रहेको कार्यदल समेत बनाइएएको छ । कार्यक्रममा शिक्षा विद् डा.विद्यानाथ कोइराला र विज्ञ बैकुण्ठ अर्यालले सामुदायिक विद्यालयका अबस्था र सुधार गर्नुपर्ने पक्षका वारेमा प्रस्तुती दिएका थिए । 

रत्ननगरका मेयर वनको अध्यक्षतामा भएको कार्यक्रममा कालिकाका मेयर खुमनारायण श्रेष्ठ, माडीका मेयर ठाकुर ढकाल,खैरहनीका मेयर लालमणि चौधरी,भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह, रत्ननगरकी उपमेयर विमला दुवाडी, राप्तीका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाई,कालिका ६ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक विनोद रेग्मी, रत्ननगर १० का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक केशब आचार्य, शिक्षकहरु मदन पुरी, पूर्ण पुरी, कालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी, खैरहनीका शिक्षा अधिकृत महेन्द्र प्रसाद पौडेल, रत्ननगरका शिक्षा अधिकृत बद्रिनारायण शर्मा लगायतले मन्तव्य राखेका थिए 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *