प्रचण्डलाई बहिर्गमित जनमुक्ती सेनाका उपाध्यक्षले दिए कडा जवाफ

सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालज्यू,
आम नेपाली आमाका छोराछोरीलाई परिवर्तनको ठुलो सपना देखाएर १० वर्षे जनयुद्धमा कपि कलम बोक्ने कलिला हातहरुमा जबरजस्ती अन्तर्राष्ट्रिय कानुन विपरित बन्दुक बोकाएर लड्न सिकाउनु भयो ।
null
ति बालबालिकाको के दोष थियो ? लड्न लगाउनु भयो लडे । सेना समायोजन र शान्ति प्रक्रियाको नाममा अस्थायी माओवादी सिविरमा कथित विदेशी…लाई बोलाएर प्रमाणीकरण गर्न लगाउनु भयो । प्रचण्डज्यू आफ्नो मुलुकको समस्या समाधान गर्ने दायित्व यही राज्यको होइन र ? किन विदेशीलाई गुहार्नु भयो, जाबो सेना समायोजनको प्रकृया टुंग्याउन ?
कि २०५२ सालको जनयुद्ध थालनी गर्दा ती विदेशीहरुकै इसारामा उहाँहरुकै आदेशमा गर्नुभएको त होइन ? यदी उनीहरुकै परिचालनमा, आदेशमा भएको जनयुद्ध थियो भने किन ४ हजार ९ जना बालबालिकालाई योग्य देख्नुभयो र लडाउनु भयो ? शान्ति प्रकृयामा आइसकेपछि तपाईँलाई प्रधानमन्त्रीको कुर्सीसम्म नपुर्याउन्जेल सम्म योग्य देख्नुभयो । कुर्सीमा पुर्याइसकेपछि कसरी अयोग्य देख्नुभयो ? यति मात्रै होइन, १७ हजार शहिद भएका छन् भने १२ हजार अंगभंग भएका छन् । हजारौँको संख्यामा बेपत्ता भएका छन् । खोइ समस्याको समाधान गर्नुभएको ?
१७ हजार शहिदको रगत र पसिनामाथि होली खेल्दै हजारौँलाई घाइते बनाउनु भयो । हजारौँलाई बेपत्ता पार्नुभयो । खोइ शहिद परिवारको सपनालाई पुरा गर्न सक्नुभएको ? खोइ घाइते अपांग भएका योद्धाहरुलाई सही ढंगले उपचार गरी समाजमा व्यवस्थापन गर्न सक्नु भएको ? खोइ हजारौँ बेपत्ताहरुको छानविन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्न सक्नुभएको ?
अब तपाईँ जस्ता गद्दार नेतासँग हामीले के अपेक्षा गर्ने ? तपाईँहरुबाट हाम्रो गुमेको अधिकार सजिलै नपाउने भइसकेपछि कानुनी बाटोलाई प्रयोग गरेर हामी आफ्नो अधिकारका लागि लडिरहँदा आज आएर तपाईँको नजरमा हामी शान्ति विरोधी, परिवर्तन विरोध कसरी भयौँ ? तपाईँको आँखा कमजोर रहेछ । राम्रोसँग चेकअप गरेर चस्मा लगाउनु होला प्रचण्डज्यू । शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु ।
यो मुलुकको एउटा जिम्मेवार पदमा बसिरहँदा मनलाग्दी बोल्दै बस्ने कि अधुरो शान्ति प्रक्रिया पुरा गर्ने कामतिर अघि बढ्ने ? यो विषय नेपालबाटै हल नगरे तपाईँलाई ३ महिनाभित्र अन्तर्राष्ट्रिय अदालत हेग लगेरै छोड्छौँ । कुनै पनि हालतमा हामीमाथि भएको अन्यायको विरुद्धमा कानुनी लडाईँ लडेर हाम्रो अधिकार सुनिश्चित गरेरै छोड्छौँ । कसैले रोकेर रोक्न सक्दैन ।
प्रचण्डज्यू तपाईँ भ्रममा नपर्नुस् । हामी कसैको परिचालनमा अगाडी बढेका छैनौँ । हामी आफ्नै गुमेको अधिकार प्राप्तिका लागि लडिरहेका छौँ ।
अझै पनि केही बिग्रिएको छैन । केही भत्किएको छैन । यो समस्या समाधान गर्न ४ वटा महत्वपूर्ण सुझाव दिन चाहन्छु तपाईँलाई ।
१. यो समाधान नेपालबाटै गर्ने हो भने तपाईँहरु गम्भीर र जिम्मेवार बन्नुस् । २. कुनै छलछाम षडयन्त्र नगरी जायज माग सम्बोधन गर्न वार्ताको तयारी गरि समाधान गर्ने बाटो तय गर्नुहोस् । ३. हामी आफ्नो गुमेको अधिकार मागेर शान्तिपुर्ण ढंगले कानुनी लगाईं लडिरहँदा तपाईँले हामीमाथि लगाएको आरोप प्रतिआरोप सबै झुट हो । यो झुटको खेती बन्द गर्नुहोस् । ४. हामीलाई यही मुलुकबाट न्याय पाउने गरी ग्यारेन्टी गरिदिनुस् । हामी वार्तामा बस्न तयार छौँ ।
बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समिती उपाध्यक्षः राजन थापा (सुवास)








