ढाट हटाउन सबैको एकमत, सरकार विरुद्ध उत्रने मेयरहरुको चेतावनी

चितवन, १८ असार । जिल्लालाई नै विभाजन गर्ने गरी चितवनको गोन्द्राङमा राखिएको सडक प्रयोग संकलन दस्तुर केन्द्र ढाट हटाउने विषयमा पटक पटक स्थानीयस्तरमा निर्णय भएको छ । निर्णय कार्यान्वयन गराउन केन्द्र सम्म लविङ भएपनि कार्यान्वयन भएको छैन् । सर्वपक्षिय बैठकले ढाट हटाउने यसअघि दुई तीन पटक निर्णय गरिसकेका थिए । मंगलबार प्रतिनिधी सभा सदस्य कृष्णभक्त पोखरेलको आह्वानमा बसेको सर्वपक्षिय वैठकले पनि गोन्द्राङबाट ढाट हटाउनका लागि केन्द्र तहमा पहल गर्ने निर्णय गरेको छ ।
मंगलबारदेखी लागु हुने गरी सडक प्रयोग दस्तुर अप्रत्याशित रुपमा वृद्धी भएपछि चितवनमा सर्वपक्षिय वैठक बसेको हो । नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारको अध्यक्षतामा बसेको बैठकले राजमार्गमा ढाट नराख्न वैकल्पिक उपायबाट कर लिने, आफ्नै जिल्लाको सदरमुकाम जानु पर्दा पूर्वी चितवनवासीसंग कर नलिने, ढाट शुन्य विन्दुमा राख्ने, कर नबढाउन आग्रह गर्ने निर्णय भएको छ । एउटै जिल्ला भएर पनि भरतपुर कामका लागि आउने पूर्वी चितवनवासीले कर तिर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने सर्वपक्षिय बैठक प्रतिनिधी सभा सदस्य पोखरेलले बताए ।बैठकमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले गोन्द्राङ ढाटकै कारण कुनै पनि बेला अप्रिय घटना हुन सक्ने भन्दै प्रशासनलाई चनाखो भएर बस्न आग्रह गरे । प्रमुख डल्लाकोटीले कर संकलनको जिम्मा पाएको ठेकेदारको व्यवहार गुण्डागर्दी शैलीको रहेको औल्याए । नेपाली काग्रेंस चितवनका सभापति जीत नारायण श्रेष्ठले आफ्नै जिल्लामा ओहोर दोहोर गर्दा कर तिर्नु पर्ने विषय लाजमर्दो रहेको बताए । ढाट हटाउने विषयमा सबै एक ढिक्का भएर अघि बढ्नु पर्ने उनको धारणा थियो ।रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जिल्लाको मध्य भागमा ढाट राख्दा पूर्वी चितवनवासीले कर तिर्नु पर्दा आफुहरु दोश्रो दर्जाको नागरीक भएको महसुस गर्नु पर्ने अवस्था रहेको बताए । उनले उपचारका लागि अस्पताल आउँदा, दाहसंस्कारका लागि देवघाट जाँदा कर तिर्नु पर्ने अवस्था रहेको भन्दै त्यो पूर्वी चितवनवासीलाई स्वीकार्य नभएको बताए । गोन्द्राङबाट ढाट नहटाए कुनै पनि अप्रिय घटना हुन सक्ने मेयर वनले चेतावनी दिए ।
राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले कर संकलन केन्द्रको स्थान अमिल्दो रहेको भन्दै स्थानान्तरण गर्नु पर्नेमा जोड दिईन् । कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले सो ढाटका बारे आफुहरुले धैर्य गरेर वसेको उल्लेख गर्दै पूर्वी चितवनवासीको माग सम्वोधन नभए आफ्नै सरकारविरुद्ध कालो झण्डा बोक्ने चेतावनी दिए । जनताको विरुद्ध काम भए आफ्नै सरकार विरुद्ध आन्दोलन गर्छौ मेयर श्रेष्ठले भने – माग सम्वोधन नभए पूर्वी चितवनवासी ७८ औं जिल्ला स्थापना गर्न तयार छन् ।रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले गोन्द्राङ ढाट हटाउने विषय उद्योगी ,व्यवसायीको मात्रै नभई सम्पूर्ण पूर्वी चितवनवासी रहेको बताए । बैठकमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, नेकपाका नेता बद्री तिमल्सीना, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्त लगायतले ढाटका विषयमा आआफ्ना राय सुझाव पेश गरेका थिए ।
null








