शिक्षामन्त्री भन्छन्– सामुदायिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा पर्ने बनाउँछौँ

असार २१, विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाललाई यही वर्ष साक्षर मुलुकका रुपमा घोषणा गर्ने अभियान सञ्चालन गरिएको बताएका छन्।
साक्षर मोरङ घोषणा समारोह तथा मोरङ जिल्ला खुला दिशामुक्त घोषणा समारोहमा उनले गरिबी घटाउन उत्पादन र सीपसँग जोड्नुपर्नेमा जोड दिए ।
null
मन्त्री पोखरेलले विगतमा शिक्षामा राजनीति भएको हुनाले अहिले सामुदायिक विद्यालयको अवस्था खस्केको बताए। उनले संघीय सरकारले यस वर्ष २१२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तारका लागि प्रयोगशाला र प्राविधिक शिक्षकको व्यवस्था गर्न बजेट छुट्टयाएको बताए ।
स्थानीय सरकारले शिक्षा सेवा आयोग उत्तीर्णलाई शिक्षकमा नियुक्त गर्न आग्रह गर्दै उनले संघीय सरकारले यस वर्ष एक हजार नमूना विद्यालय बनाई स्थानीय सरकारलाई सञ्चालनको जिम्मा दिने बताए।
वर्तमान सरकार सामुदायिक विद्यालय सुधारका लागि १० वर्षे अभियानअन्तर्गत आगामी आव २०८५/८६ भित्र अभिभावक र विद्यार्थीको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाउने उद्देश्यले काम गरिरहेको मन्त्री पोखरेलको भनाइ थियो।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विद्यालयले प्राविधिक शिक्षा र अंग्रेजीमा पठनपाठन सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आगामी पाँच वर्षभित्र सामुदायिक विद्यालय सुधारका लागि ऐन ल्याइने जानकारी दिए। महानगरपालिका भित्रका १० विद्यालयलाई नमूनाको रुपमा विकास गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरिने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी, जिल्ला समन्वय समितिका संयोजक नरेशप्रसाद पोखरेल, शिक्षा विकास समन्वय एकाइका अध्यक्ष दीर्घ चापागाईं, सुधा श्रेष्ठलगायतले साक्षर र खुला दिशामुक्त घोषणा गर्न सबैको सहयोग आवश्यक भएको बताएका थिए । रासस








