भगवान शिवलाई साउन महिना किन लाग्छ प्रिय

एजेन्सी । पौराणिक मान्यताअनुसार साउनलाई देवाधिदेव महादेव भगवान शिवको महिना मानिन्छ । शिवका अनेकौं नाम छन्, जसमध्ये महादेव, शंकर, भोलेनाथ, रुद्र आदि प्रसिद्ध छन् । जानेर वा नजानेर अनि जुनसुकै नामले पुकारे पनि महादेव प्रसन्न हुन्छन् भन्ने शिवभक्तहरूको विश्वास पाइन्छ । विशेष गरी साउन महिना शिवको प्रिय महिना भएको र यो बेला प्रकृतिले नै शिवको जलाभिषेक गर्ने भएकाले शिव आराधनाका दृष्टिले विशेष छ भन्ने मान्यता रहेको छ । साउन महिना किन शिवलाई प्रिय छ भन्ने विषयमा एउटा घतलाग्दो पौराणिक कथा छ– एक पटक सनत कुमारहरूले महादेवसँग उनलाई साउन महिना प्रिय हुनुको कारण सोधे । 

प्रश्न सुनेर महादेवले उनीहरूलाई यस्तो जवाफ दिए । जब देवी सतीले आफ्नो पिता दक्ष प्रजापतिका घरमा योगशक्तिद्वारा प्राण त्याग गरिन्, प्राण त्याग्नुअघि देवी सतीले हरेक जन्ममा आफूले महादेवलाई पतिका रूपमा प्राप्त गर्ने प्रण गरेकी थिइन् । अर्को जन्ममा देवी सती पार्वतीको नामले हिमालय पर्वत र रानी मेनकाको घरमा पुत्री भएर जन्मिन् । पार्वतीले युवावस्थामा साउन महिनामै निराहार रहेर कठोर व्रत गरिन् र महादेवलाई प्रसन्न तुल्याएर विवाह गरिन्, यसै कारणले महादेवका लागि यो महिना विशेष बन्यो । 

 

null

साउनमा शिव पूजन साउन महिनामा भगवान शिवको विशेष पूजा गरिन्छ । ‘जलधारा शिवप्रिय’ अर्थात् शिवलाई जलधारा मन पर्छ । यसै कारण शिवलाई अखण्ड जलधारा चढाएर वा जलाभिषेक गरेर प्रसन्न तुल्याउने प्रयास गरिन्छ । अभिषेक गर्दा पनि शिवलाई जल, दूध, दही, घिउ, सख्खर, मह, उखुको रस आदिले स्नान गराइन्छ । विशेष चाहना हुनेले सोहीअनुसार विशेष वस्तुले रुद्राभिषेक गर्ने विधान पाइन्छ । 

शतरुद्रीय मन्त्रपाठ गरेर अविरल पञ्चामृतमिश्रित जलधारा लगाएर रुद्री गर्ने चलन नेपालमा निकै प्रचलित छ । अभिषेकपछि वस्त्र पहिराएर पञ्चोपचार, षोडषोपचार आदि रीतिले पूजा र प्रार्थना गरिन्छ । आशुतोष शिवलाई बेलपत्र, समीपत्र, दूबो, कुश, कमल, नीलकमल, आँक मन्दार, जाईजस्ता फूल चढाएर खुसी पारिन्छ । यसका साथै भोगको रूपमा धतूरो, भाङ, नरिवल आदि चढाइन्छ । 

महादेवलाई अभिषेक महादेवलाई अभिषेक वा जलधारा प्रिय हुनुपछाडि पनि कारण छ । एक पौराणिक कथनअनुसार समुद्र मन्थनको समयमा कालकूट विष निस्केको थियो र त्यसले संसार जलाउन थालेपछि महादेवले उक्त विषलाई आफ्नो घाँटीमा राखे । त्यो प्रचण्ड विषले गर्दा महादेवको घाँटी नीलो भयो, उनलाई डाहा भयो, उनी मूर्छित भए । उनको त्यस्तो अवस्था देखेर सबै देवीदेवता भयभीत भए र उनलाई होसमा ल्याउन नजिकमा जे शीतल पदार्थ उपलब्ध छन् तिनले स्नान गराइदिन थाले । यसैको सम्झनास्वरूप आजसम्म महादेवलाई ती ती वस्तुद्वारा स्नान गराइन्छ । 

बेलपत्र र समीपत्र भगवान शिवलाई प्रसन्न पार्नका लागि बेलपत्र र समीपत्र चढाइन्छ । एक पौराणिक कथाअनुसार जब डेढ हजार ऋषिहरूले महादेवलाई कसरी प्रसन्न तुल्याउन सकिन्छ भनेर परमपिता ब्रह्मासँग सोधे, त्यतिबेला ब्रह्माले भनेका थिए– महादेव सयवटा कमल चढाउँदा जति खुसी हुन्छन् त्यति एक नीलकमल चढाउँदा हुन्छन् । त्यस्तै एक हजार नीलकमल बराबर एक बेलपत्र र एक हजार बेलपत्र बराबर एक समीपत्रको महत्व हुन्छ । 

स्मरणीय छ, एकपटक भगवान् विष्णुले पनि महादेवको सहस्र नाम उच्चाराण गर्दै उनलाई एक हजार कमलको फूल चढाउँदै थिए । महादेवले विष्णुको परीक्षा लिने मनसायले एउटा फूल लुकाइदिए । ९ सय ९९ फूल चढाइसकेपछि एउटा फूल अपूग भयो । विष्णु सुरुमा त अलमल्ल परे, अर्को कमल ल्याउनका लागि पूजाको स्थलबाट बीचमै उठेर हिँड्न पनि मिलेन । अनि उनले संसारले आफूलाई कमललोचन भनेर पुकार्ने गरेको कुरा स्मरण गर्दै आफ्नो एउटा आँखा झिकेर महादेवलाई अर्पण गरे । विष्णुको यस्तो दृढ भक्तिबाट प्रसन्न भएका महादेवले उनलाई सुदर्शन चक्र प्रदान गरे । 

बेलपत्रले दिलायो वरदान महादेवको पूजा भन्नेबित्तिकै बेलपत्रबिना त्यो अधूरो हुन्छ, किनभने शिवलाई प्रसन्न पार्ने सुलभ माध्यम बेलपत्र नै हो । एक पौराणिक कथाअनुसार एकजना शिकारी डाँकु थियो । ऊ परिवारको पालनपोषण गर्नका लागि मानिसहरूलाई लुट्ने काम गर्थ्यो। एकपटक साउनको महिना थियो । त्यो डाँकु बटुवालाई लुट्ने मनसायले हतियारले सुसज्जित भई बाटोनजिकैको झाडीमा गई लुकेर बस्यो । एक पूरा दिनरात बित्दासमेत कुनै शिकार नमिलेपछि ऊ हतास भयो । 

डाँकु जुन रुखमा लुकेर बसिरहेको थियो त्यो बेलको रुख थियो । शिकार नपाएर चिन्तित भइरहेका कारण ऊ रुखको पात टिप्दै भुइँमा फालिरहेको थियो । चिसो भएका कारण ऊ स्युस्यु पनि गर्दै थियो । संयोगवश उसले फालेका बेलको पात भुइँमा शिवलिंग आकारको एक पत्थरमा पर्थ्यो। त्यहाँ अचानक महादेव प्रकट भए र उसलाई वरदान माग्न भने । यस बेलादेखि महादेवलाई बेलपत्र चढाएर पूजा गर्ने चलन सुरु भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *