मिरगञ्ज पुलको अवरोध हट्यो, नेपाल भित्रन थाले मालवाहक सवारी

साउन ३, विराटनगर । बाढीका कारण पुल जोखिममा रहेको भन्दै भारतीय प्रशासनले सिमावर्ती जोगबनीमा रहेको मिरगञ्ज पुलबाट ट्रकको आवागमनमा लगाएको रोक फुकुवा गरेको छ ।
खोलाको जलस्तर घटदै गएपछि पुलबाट मालबाहक ट्रकको आउजाउमा लगाइएको रोक हटाइएको हो । बाढीका कारण पुल भास्सिन सक्ने भन्दै भारतीय प्रशासनले शनिवारयता मालवाहक ट्रकको आवागमनमा रोक लगाएको थियो ।
null
विराटनगरस्थित रानी भन्सार नाका भएर आउने मालसामान सोहि पुल पार गरेर आउनुपर्ने भएका कारण शनिवारयता ठुला मालबाहक ट्रक आउन सकेका थिएनन् । जसका कारण विराटनगर भन्सार कार्यालयको राजस्व असुली समेत प्रभावित भएको थियो ।
विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेलले ४० टन भारवहन गरेका ठुला सवारी साधनमा रोक लगाइएको भएपनि सोमबारबाट तेल ट्यांकर र क्रुड पाम आयलका ट्यांकरहरु आउन थालेको र बुधबारबाट ४० टनसम्मका ट्रकहरु आउन दिने भारतीय पक्षबाट जानकारी गराइएको बताए । दुई वर्ष अघि पनि सो पुल भास्सिएपछि विराटनगरबाट हुने आयात निर्यात ठप्प भएको थियो ।
सो समयमा पुल भास्सिएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरुले करिब १ सय २० किलोमिटर लामो दुरी पार गर्दै भण्टाबारीबाट आयात निर्यात गर्नुपरेको थियो । उक्त पुलबाट दैनिक ३ सय मालबाहक ट्रकहरु विराटनगरतर्फ भित्रिने गरेका छन ।








