सप्तरीको गोबरगाढा गाउँ डुबानमा, झण्डै आठ सय परिवार मारमा

सप्तरी, ९ साउन । सप्तरीको गोबरगाढाका झण्डै आठ सय परिवार लगातारको वर्षाका कारणले डुबानमा परेका छन् । लगातारको वर्षापछि विभिन्न खोलामा आएको बाढीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका आठ सय परिवार डुबानमा परेको हो । बाढीका कारण त्यहाँका प्रत्येक घरमा करिब ५ – ६ फिटसम्म पानी जमेको छ ।
लगातारको वर्षाका कारण गोबरगाढाबाट ६१ परिवार ज्यान जोगाउन हनुमाननगरको बाँधमा आएर बसिरहेका छन् । ६१ बाढी पीडित परिवारलाई हनुमाननगनर कंकालिनी नगरपालिकाको सहयोगमा वडा कार्यालयले चिउरा, भुजा ,त्रिपाल, नुन, चाउचाउ, खाने तेललगायतका सामग्रीहरु वितरण गरिएको छ । बाढीकै कारण हनुमाननगर कंकालिनी नगरपालिका – ११ इनरुवाका १५ परिवार विस्थापित भएका छन् ।
कयौँ बिगाहा खेतीयोग्य जमिन डुबानमा परेकाले स्थानीय कृषकहरु थप समस्यामा परेका छन् । त्यस्तै, जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा करिब एक हजार घर तथा गाउँपालिका कार्यालय समेत डुबानमा परेको छ । अविरल वर्षापछि खाडो खोलामा आएको बाढीले गाउँ डुबेको हो । डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागिरहेका छन् ।
null








