नेपालमा रअको सक्रियता, अमेरिका र भारतप्रति नेकपा नरम


काठमाडौं, ७ साउन । आज प्रकाशित दैनिक पत्रिकाहरूको प्राथमिकतामा प्रदेशहरूको खर्चमा परेको छ भने केहीले रअको सक्रियता, सरकारी गाडी दुरुपयोगको विषय उठाएका छन् ।
कान्तिपुरले सातै प्रदेशको औसत बजेट खर्चबारेको हिसाब निकालेको छ । समाचार अनुसार सातै प्रदेशको औसत बजेट खर्च ५४ प्रतिशत मात्रै छ । प्रदेश ५ ले सबैभन्दा बढी अर्थात् विनियोजन गरेकोमध्ये ६१ प्रतिशत खर्च गरेको छ भने कर्णाली प्रदेश सबैभन्दा कम खर्च गर्नेमा सूचीकृत छ । यो प्रदेशले विनियोजित बजेटको करिब ३५ प्रतिशत मात्रै खर्च गरेको समाचारमा उल्लेख छ ।
null
अन्नपूर्णले राजनीतिक विषयलाई नै मुख्य समाचारको रुपमा रोजेको छ । नेकपाको राजनीतिक दस्ताबेज केलाउँदै अन्नपूर्णले ‘अमेरिका र भारतप्रति नेकपा नरम’ शीर्षक समाचारमा लेखेको छ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्तावेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको छ । राजनीतिक दस्ताबेजको २ ठाउँबाट अमेरिकी शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण नरम बनाइएको अन्नपूर्णको ठहर छ ।
नेपाल समाचारपत्रले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) को टोलीको नेपाल भ्रमणमाथि मुख्य समाचार बनाएको छ । समाचार अनुसार रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोलीले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष प्रचण्डलगायत नेतालाई भेटेको छ । राजपालगायत दलका नेतासँग पनि यो टोलीले भेटेको खबर प्रकाशमा आइरहेका छन् । यद्यपि, कुनै पनि भेटघाटको पुष्टि हुन सकेको छैन ।
विद्यालयमा धेरै समय बिताउँदा विद्यार्थीको सिकाइमा प्रतिकूल असर पर्ने खबर गोरखापत्रमा छ भने कारोबारले नयाँ दुग्ध विकास नीति ल्याउन लागिएको लेखेको छ ।
