विपीमा भिसि र रेक्टर कार्यालयमा तालाबन्दी

 

असार १२, धरान । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रेक्टरको कार्यालयमा आज (बिहीबार) ताला लगाएको छ । 

स्नातकोत्तर (एमडिएमएस) को कोटामा विदेशी विद्यार्थीलाई बढी प्राथमिकता दिएर सिट छुट्याएको भन्दै प्रतिष्ठानको वेल्फेयर सोसाइटीले आज तालाबन्दी गरेको हो । 

null

उपकुलपति र रेक्टरको कार्यालय प्रवेश गर्ने मुल चेनगेटमा नै तालाबन्दीपछि जुनियर रेसिडेन्टहरु उपकुलपतिको कार्यालयअघि धर्ना दिएर बसेको सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले जानकारी दिए । 

यसअघि, गत शनिबार प्रतिष्ठानले एमडि र एमएस को प्रवेश परीक्षा लिएको थियो भने सोमबार रिजल्ट समेत प्रकाशन गरेको थियो । लगत्तै, जुनियर रेसिडेन्टहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको विपरीत विदेशी विद्यार्थीलाई बढी कोटा छुट्याएको भन्दै सच्याउन ७२ घण्टे अल्टिमेटम दिएका थिए । अल्टिमेटमको सुनुवाई नभएपछि तालाबन्दीमा उत्रन बाध्य भएको सोसाईटीले जनाएको छ । 

उता प्रतिष्ठानले भने ऐनले भने बमोजिम नै कुल सिट संख्याको एक तिहाईभन्दा कम सिट संख्या विदेशीलाई छुट्याएको दाबी गर्दै आएको छ । 

चिकित्सा ऐनको परिच्छेद ६, दफा १७ को उपदफा ५ मा ‘स्नातक तथा स्नातकोत्तर तहका लागि तोकिएको कुल सीट संख्यामध्ये विदेशी विद्यार्थीको संख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाई भन्दा बढी हुने छैन’ भन्ने व्यवस्थालाई प्रतिष्ठानले पालना गरेको जनाएको छ । 

कुल १२४ सिटमा विदेशी कोटामा मात्र २६ सिट छुट्याइएको छ । उर्तीण भएका विद्यार्थीहरुको आउँदो सोमबार काउन्सिलिङ गर्ने प्रतिष्ठानको तयारी छ । 

आन्दोलनरत जुनियर रेसिडेन्टहरु तथा विद्यार्थीहरुले भने कुल सिट संख्याको नभइ प्रत्येक विभाग (बिषय) को एक तिहाई सिट मात्र विदेशीलाई हुनुपर्ने माग गरेका छन् । 

यस्तै नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा आयोगलाई पत्र काट्दै त्यहाँको विवाद सुल्झाउन भनेको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालै लिएको पी.जी प्रवेश परीक्षाको प्रकाशित सूचनामा तोकिएको सिट संख्यामा विदेशी नागरिक कोटाको विषयलाई काउन्सिलमा विभिन्न जनगुनासो आएको पत्रमा उल्लेख छ । 

‘प्ररीक्षाको प्रकाशित सूचना चिकित्सा शिक्षा ऐनले तोकेको व्यवस्था अनुसार भए नभएको सम्बन्धित आयोगले प्रतिष्ठानसँग निक्र्यौल गरी सो बमोजिम निर्देशन दिनुहुन काउन्सिल विनम्र अनुरोध गर्दछ’, पत्रमा भनिएको छ ।  

 

यता, प्रतिष्ठान पदाधिकारीहरुले भने संस्थालाई धरासायी बनाउने नियतले गतल हल्ला फैलाइरहेको दाबी गरेका छन् । ऐनले भनेअनुसार नै कुल सिट संख्याको एक तिहाई विदेशी कोटालाई दिन मिल्ने प्रावधान अनुसार नै सिट संख्या विदेशीको लागि छुट्याइएको उपकुलपति डा.राजकुमार रौनियारले जानकारी दिए ।  

मासिक तलबमा नै ११ करोड बढी खर्च हुने भन्दै डा. रौनियारले सो रकम सरकारले दिने नभइ आफैँले प्रतिष्ठानबाट चुटाउनुपर्ने दाबी गरे । उनले भने, ‘सरकारले हामीलाई दिँदैन, आफैँ कमाएर प्रतिष्ठान चलाउनु भनेको छ । हाम्रो आम्दानीको स्रोत नै विद्यार्थीको शुल्क र बिरामीको शुल्क हो, त्यो पनि कानुन सम्मत नै लिएका छौँ ।’ 

सरकारले चिकित्सक र कर्मचारीको तलब खर्च उपलब्ध गराउने हो भने विदेशी कोटा नछुट्याई सबै निःशुल्क नेपाली कोटा छुट्याउन तयार भएको उनको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *