कृषिमन्त्रीको गुनासोः कृषिमा बजेट पुगेन

जेठ २६, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषिमा विनियोजित बजेट कम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले कृषिलाई व्यवसायीकरण बनाउनका लागि कम्तीमा कुल बजेटको ५ प्रतिशत छुट्याउनुपर्ने बताए ।
null
उनले भने, ‘हामीले युवाहरुलाई कृषिमा आवद्ध गराउने गरि कार्यक्रमहरु अघि सारेका छौँ । हामी केही चिनिएका कृषि उत्पादनहरु जस्तो माछा, खसी–बोका र दुद्यमा निकट भविष्यमा आत्मनिर्भर हुन्छौं । सोहीअनुसार हामीले कार्यक्रम अघि सारेका छौं । यो बजेट पर्याप्त छैन । सरकारले यो वर्ष कृषिमा कुल बजेटको १ दशमलव ५ प्रतिशत मात्रै छुट्टयाएको छ ।’
उनले पर्याप्त बजेट नआएपनि विनियोजित बजेटको सही सदुपयोग गर्ने प्रतिबद्धता पनि जनाए । अण्डा, कुखुराको मासु र बंगुरको मासुमा नेपाल आत्मनिर्भर भएको उनको भनाइ छ ।
त्यस्तै कृषिमन्त्री खनालले किसानले मल नपाएको सन्दर्भ पनि उठाए । अनुदानमा साढे तीन लाख मेट्रिक टन मल किसानलाई दिन सकिने भएपनि ६ लाख मेट्रिक टनको माग रहेको जानकारी गराउँदै उनले भने, ‘मलको अभाव हुने गरेको छ । किसानको मागलाई अनुदानमा पुर्ति गर्ने अवस्था छैन । युरियामा समस्या छैन ।’
मन्त्री खनालले प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेको स्मरण गराउँदै आगामी दिनमा पनि कृषिको वृद्धिदर नघट्ने पनि दाबी गरे ।
उनले आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउनेगरि मलको ब्लेण्डिङ कारखाना खोल्न लागिएको पनि सुनाए । ‘यसको लागि हामीले १५ करोडको प्रस्ताव गरिएको छ।’–उनले थपे । त्यस्तै, युएसटी र धुलो दुधको फ्याक्ट्री पनि खोल्न लागिएको उनले जनाए ।
मलमा कालोबजारी भएको भन्ने कुरामा केही सत्यता रहेकोले त्यसतर्फपनि आफू चनाखो रहेको बताउँदै उनले विचौलियाहरुलाई कडाई गर्ने चेतावनी दिए ।








