उल्टो मन्त्र लगाएको भन्दै झाँक्रीको हत्या

बर्दिया, १३ असार । परिवार बिरामी बनाएको भन्दै राजापुर नगरपालिका–३, नंगापुरमा गुरुवा जयराम चौधरी (थारू समुदायका झाँक्री) को हत्या भएको छ । साताअघि हत्या गरेर फरार रहेका अयोध्या भनिने दोदलाल थारू घर आएको मौकामा प्रहरीले पक्राउ गरेसँगै घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार चौधरी घरबाहिर सुतिरहेको अवस्थामा धारिलो हतियारले निधारमा प्रहार गरिएको थियो ।
बुधबार साँझ पक्राउ परेका दोदलाललाई प्रहरीले बिहीबार दिउँसो गुलरियामा सार्वजनिक गर्यो । दोदलालले फलामको गरसाले हत्या गरेको बयान दिएको प्रहरीले जनायो । दोदलालले उल्टो मन्त्र प्रयोग गरेर २ वर्षअघि जयरामले पत्नी जुकमाली र बुहारी इन्द्रावतीलाई मारेको आरोप लगाए । ‘मलाई समेत मार्न उल्टो मन्त्र प्रयोग गरिएको थियो,’ उनले भने, ‘उल्टो मन्त्रले मेरो पेट फुल्दै बिरामी भएँ र औषधि गर्दा पनि सन्चो भएन ।’
null
इलाका प्रहरी राजापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले हत्यापूर्व दोदलालले जयरामकी बुहारी ईश्वरी र नाति सुतेको कोठामा बाहिरबाट चुकुल लगाएको खुलेको बताए । बुहारीले पनि घटना थाहा नपाएको बताइन् । ‘ससुरा सधैं बाहिर सुत्ने भएकाले खटियामा बिस्तरा लगाइदिएकी हुँ,’ उनले भनिन्, ‘त्यसअघि दोदलाल घरमा आएको थाहा छैन ।’
जयरामका एक छोरा र एक छोरी छन् । पत्नीको एक वर्षअघि मृत्यु भएको थियो । छोरा वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । डीएसपी भारतीका अनुसार हत्या गरेपछि दोदलालले रगत लागेको कपडा खोलामा बगाएका थिए । हत्यामा प्रयोग गरिएको धारिलो हतियार बरामद भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।








