गुठी विधेयक विरुद्ध भोली काठमाडौमा बिशाल प्रदर्शनको तयारी

 

असार ३, काठमाडाैँ । गुठी विद्येयकको विरुद्धमा बुधबार काठमाडौमा बहृत प्रदर्शनको तयारी गरिएको छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । 

सरकारले सदनमा ल्याएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको राष्ट्रिय सभामा छलफलको क्रममा छ । सोही विद्येयको विरोधमा माइतीघरमा बेलुन उडाएर विधेयकको विरोध गर्ने, नृत्य, गीत इत्यादि प्रस्तुत गर्ने कार्यक्रम छ । 

null

विरोध कार्यक्रममा सयौं युवाहरुसहित प्रहरीलाई फूल दिन माइतीघर पुग्दैछन् । जेठ २६ गते गुठी विधेयकविरुद्ध माइतिघरमा प्रदर्शन गर्न पुगेका गुठीयारहरुलाई प्रहरीले लाठी र लात्ती बर्साएको सांकेतिक विरोध स्वरुप प्रहरीलाई फूल दिने कायृक्रम समेत राखिएको आयोजकले जनाएको छ । 

आयोजक मध्येका एकले मकालु खबरसंग भने ‘प्रहरी र हामी त साथी हौं । उहाँहरुलाई फूल दिएर हामी भोलि शान्तिपूर्ण प्रदर्शन गर्ने तयारीमा रहेको बुझाउने प्रयासमा हुनेछौं ।’ 

यसअघि जेठ २६ गते माइतीघर मण्डलमा करिब २ सय व्यक्ति भेला भएका थिए । सांस्कृतिक आन्दोलनमा एकाएक प्रहरीले लाठी, लात्ती र पानीको फोहोरा बर्साएपछि स्थिति झन् बिग्रिँदै गयो । दमनको विरोधमा उपत्यकामा त्यही रात गृहमन्त्रीको राजीनामा माग्दै मसाल जुलुस निकालेका थिए । त्यस दिनबाट दैनिक रुपमा उपत्यका मात्र नभई उपत्यका बाहिरसमेत विरोधसभा र मसाल जुलुसहरु आयोजना भइरहेका छन् । 

कहाँकहाँबाट आउदैछ जुलुस ?बुधबारको प्रदर्शनमा काठमाडौंका विभिन्न पाँच स्थान (वसन्तपुर, टेकु, कुपण्डोल, रत्नपार्क र नयाँ बानेश्वर) बाट भेला भई बिहान ११ बजे माइतीघर पुग्ने कार्यक्रम रहेको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले बताए । 

‘उपत्यकाबाट मात्र नभई धरान, पनौती, हेटौंडा, बनेपा, पोखरा लगायतका स्थानबाट पनि मानिसहरु आउँदैछन,’ श्रेष्ठले भने, ‘भोलि माइतीघरमा हुने विरोध कार्यक्रममा करिब एक लाख मानिस जम्मा हुने हामीले अनुमान गरेका छौं । सबैलाई परम्परागत बाजा र पहिरनमा आउन आह्वान समेत गरेका छौं ।’ 

आन्दोलनमा सहभागी हुने मानिसहरुको व्यवस्थापन गर्नका लागि पाँच सयभन्दा बढी स्वयम् सेवक परिचालन गर्ने तयारी आयोजक समितिले गरेको छ । विरोधसभामा आउनेहरुका लागि खानेपानी र स्वास्थ उपचारको बन्दोबस्त मिलाइएको आयोजकले बताएका छन् । 

विरोधमा चर्चित कलाकारको साथमाइतीघरमा बुधवार हुने प्रदर्शनमा सांस्कृतिक र सांगीतिक कार्यक्रम समेत आयोजना हुनेछ । हजारौं संख्यामा आउने नेवार समुदायका मानिसहरु धिमे, भुस्या लगायतका परम्परागत बाजागाजा सहित उपस्थित हुने तयारीमा छन् । 

पाटन, खोकना, बालाजु, भक्तपुर थिमी, साँखु, हाडीगाउँ लगायतका स्थानबाट बाजागाजासहित मानिसहरु माइतीघर पुग्ने तयारीमा छन् । विरोध कार्यक्रममा गायक योगेश्वर अमात्य, जेम्स प्रधान, बबिन प्रधान, सञ्जय श्रेष्ठ लगायतका कलाकारहरु समेत जाने तय भएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *