मर्मस्पर्शी कथा: जाबो पाँच रुपैयाँ

एउटा कार रोकियो । कारको एक साइडको कालो सिसा अटोमेटिक खोलियो । त्यहीबाट टाउको बाहिर निकाल्दै निधारमाथि कालो चश्मा लगाएका एक सज्जनले भने, “कति हो आमै एउटा मकैको ?” धुँवाले खोक्दै भनिन्, “२५ ।” “२० मा आउँदैन ?” “अहँ ।” “दिनुस् न दिनुस् २० मा । जाबो पाँच रुपैयाँ त हो नि ।” “यति दुख गरेर ल्याएको मकै । कसरी दिनु अलिकति पनि नाफा नगरी ?” “अरु ठाउँमा त जतिपनि पाइन्छ है २० मा ।” “मिल्दैन हजुर ।” “नदिने त २० मा, उसोभए ?” “२५ मै लैजानुस् । मकै मिठो छ ।” 

“जतिसुकै मिठो भएपनि २० मा दिइनौ । जाबो पाँच रुपैयाँ पनि मिलाइनौ । भयो चाहिएन ।” इति भनेर उनले गाडी गुड्यो । ती आमैसँग मैले एउटा मकै किनेँ । र, त्यही छेउमा आड लाएर खान थालेँ । त्यो गाडी केही पर गयो र त्यही नजिकै एउटा रेष्टुरेन्टअगाडि पार्क गरकोे देखँं । गाडीबाट झरेर ती सज्जन रेष्टुरेन्टभित्र पसे । त्यो रेष्टुरेन्टलाई बाहिरबाट हेर्दा यतिचाहिँ यकिनसाथ भन्न सक्छु कि त्यहाँ पाइने सबैभन्दा सस्तो परिकार कम्तिमा १०० रुपैयाँभन्दा बढी नै पर्छ । 

ती सज्जनले त्यस रेष्टुरेन्टमा खाने म:म:, चाउमिन वा अरु कुनै आइटम कम्तिमा १०० भन्दा बढीको पक्कै खानेछन् । सम्पन्न छन् र खर्च गर्छन् जायज। आफ्नो परिश्रमले कमाएको पैसा चाहे त्यस रेष्टुरेन्टमा १०० को म:म:, चाउमिन खाऊन् चाहे पाँचतारे होटेलमा । त्यो उनको स्वतन्त्रताको कुरा । तर मलाई एउटा कुराले गतिलरी छोयो । “जाबो पाँच रुपैयाँ ।” “अर्कोपनि खानुहुन्छ ? कस्तो लाग्यो मकै ?” मकै पोल्ने आमाले मलाई सोधिन् । “खाँदै छु । मीठै छ मकै त, तर मलाई पुग्छ ।” मैले भनेँ । धुँवाले उनको चाउरी परेको अनुहार कालो न कालो भएको छ । 

null

उनले मकैको खोस्टो निकाल्दै त्यसैले मकैलाई हम्कदैछिन् । उनको नाकको बुलाकी उनी हतारहतार गरेर मकै पोलिरहेकाले यसरी हल्लिरहेको देखेँ कि मानौँ त्यो बुलाकीले भनिरहेछ, “कति दुख गर्छेस् बूढी ? यो उमेरमा पनि ।” “कति हो एउटाको ?” कलेज डे्रसमा सजिएका दुई युवतीमध्ये एकले सोधिन् । “२५ ।” “२० मा आउँदैन ?” अर्कीले भनिन् । “आउँदैन ।” “ल दिनुस् न त ?” “कतिवटा?” भनेर उनले ती युवतीतिर यसरी हेरिन् कि मानौं उनका आँखाले भन्न खोजिरहेछन्, “लैजानुस् अलि धेरै ।” “दुईटा दिनुस् ।” एउटीले भनिन् । 

ती आमैले मकैको हरियो खोस्टामा दुईटा मकै राखिन् र दिँदै भनिन्, “लिनुस् नानी ।” उनीहरुले पैसा दिए र मकै खाँदै आफ्नो बाटो लागे । “ऐया ! “ उनले भनिन् । हतारिदा उनको हात आगोको कोइलाले पोल्यो । हात झिकिन् र आफ्नो लगाइराखेको पुरानो धोतीको एक छेउले पोलेको औलालाई एकछिन् छोपिन् । एक मिनट नहुँदै हात झिकिन् र डढ्न लागेको मकै फेरि त्यही हातले फर्काइन् । म तिनै आमैले पोलेको मकै खाइरहेछु उनको छेउमा बसेर । उनलाई राम्ररी नियालँे । उनको हुलिया र बृद्ध उमेरमा पनि त्यो मेहेनत देखेर सोच्न बाध्य भएँ, कहाँ होलान् यिनका छोराछोरी र नातिनातिना ? कहाँ होला यिनको घर ? छोराछोरीले स्याहार गर्ने बेला सडकछेउमा यसरी दुख गर्नुपर्ने अबस्था कसरी आयो होला ? 

अघि रेष्टुरेन्टमा छिर्ने सज्जन निस्के र आफनो गाडी लिएर लागे आफ्नो बाटो । रेष्टुरेन्टको मूल ढोकाबाट निक्कदा हातमा एउटा प्याक गरिएको खानेकुरा हातमा लिएको देखेँ । पक्कै त्यो रेष्टुरेन्टबाट उनले खानेकुरा लिएर गए सायद आफनो परिवारलाई । उनले आफनो नजर फेरि ती बूढीआमैतिर लगे । अघिको कुरा फेरि सम्भि्कएँ, “जाबो पाँच रुपैयाँ ।” ती बूढीआमैले दिनमा पचासवटा मकै बेचिन् भनेपनि त्यो पाँच रुपैयाँ फाइदाको दरले गर्ने हो भने जम्मा हुन्छ २५० । दिनमा बढीमा २५०ले उनले आफ्नो पेट पाल्दैआएकी छिन् ? र, परिवारमा अरु कोही छन् भने तिनको पनि खर्च यतिले नै कसरी चलेको होला ? गाडीवालको लागि जाबो पाँच रुपैयाँ उनको लागि कति महत्व ? त्यही पाँचपाँच रुपैयाँले त एउटा जीवन धानिएको छ । 

मैले त्यो मकै खाइसकेँ । र, लागेँ, आफनो कोठातिर । बाटोमा अरु कुरा खेल्न थाल्यो । त्यो गाडीवालले सुबिधायुक्त रेष्टुरेन्टमा सयौं खर्च गर्न सक्छ भने पाँच रुपैयाँ ती मकै बेच्ने आमैको लागि किन्न सकेन किन ? त्यो रेष्टुरेन्टमा १०० रुपैयाँ नै बढाएर बिल तयार भएपनि उसले त्यसमा त्यति बार्गेनिङ गर्दैन होला जति सडकमा दिनभर धुँवा र बुढेसकालको असक्तताबीच मकै पोल्दै गरेकी ती आमैसित गर्दैथिए । त्यो पनि पाँच रुपैयाँको लागि । 

एक मनले सोच्यो, यदि उसको आमा छन् भने एउटा पोलेको मकै लगिदिएको भए तिनले त्यो म:म:, चाउमिनभन्दा खुसी हुन्थिन् कि ? मकै पोल्ने अर्की आमै झन् खुसी । फेरि अर्को मनले सोच्यो, उसको पैसा उसको खुसी । जे खाओस्, जेसुकै लगिदेओस् आफ्नो परिवारलाई,उसको मर्जी । कोठामा पुगेँ । साँझ परिसकेकाले खाना खाएपछि बिस्तारामा पल्टिएँ । निद्रा लागेन । कानमा एउटै वाक्य गुञ्जियो, “जाबो पाँच रुपैयाँ ।” 

(यो कथा सामाजिक सन्जाल मार्फत लिइएको हो ।) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *