वीपी प्रतिष्ठानमा चिकित्सा सेवा आयोगको नजर, शिक्षाध्यक्षको अध्यक्षतामा परीक्षा समिति गठन गर्न निर्देशन

 

जेठ २८, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रणालीमा चिकित्सा शिक्षा आयोगले चासो देखाएको छ । शिक्षाध्यक्षको अध्यक्षतामा परीक्षा समिति गठन गरी परीक्षा सञ्चालन गर्ने प्रक्रिया विपरित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डीनको अध्यक्षतामा परीक्षा समिति गठन गरेको भन्दै उजुरी परेपछि चिकित्सा शिक्षा आयोगले शिक्षाध्यक्ष कै अध्यक्षतामा परीक्षा समिति गठन गर्न प्रतिष्ठानलाई निर्देशन दिएको हो । 

बदनियत तवरले डीनको अध्यक्षतामा परीक्षा समिति गठन गरेको भन्दै प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको दावि छ । प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले भने परीक्षा स्थगित गर्न र अर्काे कमिटि बनाउन सक्ने अवस्था नरहेकाे बताएका छन् ।   

null

  

रौनियारले शिक्षामन्त्रीले प्रतिष्ठानको अधिकार माथि नै अंकुश लगाउने काम गरेको बताए। ‘एकातिर प्रतिष्ठानलाई अटोनोमस भन्ने अर्कोतिर हस्तक्षेप गर्ने काम भयो, प्रतिष्ठानको नियमानुसार नै डीनलाई अध्यक्ष बनाइएको हो, त्यसमाथि शिक्षाध्यक्षलाई परीक्षाको सुपरीवेक्षण र अनुगमन गर्ने भनिएको छ ।’ उनले भने । 

‘ऐनमा कहाँ छ शिक्षाध्यक्ष कै अध्यक्षतामा कमिटि गठन गर्नुपर्छ भनेर ? उपकुलपतिले परीक्षा समिति गठन गर्नेछ भनिएको छ । मैले मेरो स्वविवेकले काम गर्ने हो । यसमा मन्त्रालयले हस्तक्षेप गर्नु आवश्यक छैन ।’ डा. रौनियारले भने । उनले प्रवेश परीक्षा आउँन साता दिन मात्र बाँकी रहेकोले झन अन्यौलता बढेको जिकिर गरे ।  

साथै डा. रौनियारले आफुले प्रतिष्ठानका पुराना गलत पद्दतिहरु सुधार्न लागेको अवस्थामा यसरी सरकारले हस्तक्षेप गर्दा काम गर्ने वातावरण नबनेको बताए । प्रतिष्ठानका केहि पदाधिकारी नै प्रतिष्ठानको विरुद्ध लागेको बताउँदै यसले कसैलाई ब्यक्तिगत फाइदा नपुग्ने बताए । ‘केहि पदाधिकारी साथीहरु ब्यक्तिगत रिसिइवी साँध्न प्रतिष्ठानलाई बन्धक बनाउन खोजिरहनु भएको छ ।’ उनले भने । 

डा. रौनियारले डीनको अध्यक्षतामा परीक्षा कमिटि गठन गर्दा कुनै नियमविपरित कार्य नगरेको बताउँदै प्रतिष्ठानको नियमावलीले प्रदत्त अधिकार प्रयोग गरेको बताए । ‘परीक्षा प्रणालीलाई ब्यवस्थित र पारदर्शी गराउन डीनको अध्यक्षतामा परीक्षा समिति बनाइएको हो, त्यहाँ भन्दा माथि त शिक्षाध्यक्षले नै अनुगमन र सुपरिवेक्षण गर्नुहुन्छ ।’ उनले भने ।  

मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानका पदाधिकारीले नै आयोग र मन्त्रालयमा उजुरी हालेका हुन् । ‘यो उपकुलपतिलाई बदनाम गराउने तथा प्रतिष्ठान अस्तब्यस्त बनाउनेहरुको चाल हो ।’ मन्त्रालय स्रोत भन्दछ । 

उक्त उजुरीलाई नै आधार मान्दै चिकित्सा शिक्षा सेवा आयोग, प्रधानमन्त्री कार्यालय, शिक्षा तथा स्वास्थ्य मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत समन्वयमा तत्काल प्रवेश परीक्षा स्थगित गर्दै शिक्षाध्यक्षकै अध्यक्षतामा प्रवेश परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । 

यता प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनालले आफुले उपकुलपतिलाई विवाद हुने निर्णय नगर्न आग्रह गरेपनि नसुनेको जिकिर गरे । प्रतिष्ठानको २५ वर्षे इतिहासमा परीक्षा समितिको अध्यक्ष शिक्षाध्यक्ष रहँदै आएकोमा उपकुलपतिले त्यसलाई तोडेर विवाद सृजना गरेको डा. खनालको भनाई छ । ‘मैले यो विवाद हुने काम नगरौं भन्दा उहाँले मान्नु भएन ।’ डा. खनालले भने । 

प्रतिष्ठानले एमबीबीएस/बीडीएस प्रवेश परीक्षा साउन १८ गते र एमडीएस/एमडीएमएसको प्रवेश परीक्षा असार २२ गते तोकेर फारम वितरण गरिसकेको छ । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *