‘ससुराली खलकले अगुल्टा उचाले, प्रधानमन्त्रीज्यू सतर्क रहौँ’

 

असार ६, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कुनै पनि देशको बजेट एउटा वार्षिक आय–व्ययको अनुमान मात्र नुहने बताएका छन् । 

शुक्रबारको प्रतिनिधि सभा बैठकको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष भट्टराईले बजेट देशको वार्षिक आय व्ययको अनुमान मात्र नभइ त्यो तत्कालीन देशको जुन अर्थतन्त्र, सामाजिक राजनीतिक अवस्था र त्यसलाई रुपान्तरण गर्नका निम्ति एउटा दिशोबोध गर्ने दस्तावेज पनि भएको बताए । 

null

बजेट समग्र राजनीतिक प्रक्रिया, सामाजिक प्रक्रियासँग जोडिएको हुने स्पष्ट पार्दै उनले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट सामान्य र निरन्तरताको हिसाबले हेर्दा सकारात्मक मान्नुपर्ने धारणा राखे । बजेटमा कुनै परिवर्तन नआएको उनको भनाइ छ । 

डा. भट्टराईले आफू गणतन्त्र नेपालको पहिलो अर्थमन्त्री हुँदा केही परिवर्तन गर्न खोजेको तर नौ महिनामै सरकार गइसकेका कारणले नयाँ कामहरु अघि बढाउन सक्ने अवस्था नरहेको उनको दाबी छ । 

त्यसपछिका सरकारहरुको पनि नियति त्यो भन्दा राम्रो नभएको स्मरण गराउँदै उनले दुई तिहाइको सरकारले ल्याएको बजेट हिजोको निरन्तरतासँग दाँजेर नुहने बताए । ‘दुई तिहाइको सरकारले ल्याएको बजेट हिजोको निरन्तरतासँग दाँजेर हुँदैन । अर्थतन्त्रलाई वायुपङ्खी घोडाको स्तरमा गुडाउनुपर्ने समय हो। महान् छलाङ र क्रमभंगता गर्नुपर्ने अहिलेको आवश्यकता हो।’ 

यस्तै उनले भारतको विकल्पमा चीनको अर्थतन्त्रबाट लाभ लिन नसकिने पनि स्पष्ट पारे । भट्टराईले चीनसँगको आयात–निर्यातमा तत्काललाई प्रभाव पार्न नसकिने प्रस्ट्याए। 

उनले भने, ‘चीन हाम्रो नजिक रहे पनि हिमाली भागहरु परेकाले समदुरीमा हामी जान सक्दैनौं। चीनतिरको ३–४ दशक भारतको तुलनामा चीनसँग लाभ लिन सक्दैनौं। भारतसँग नै हाम्रो अर्थतन्त्र आश्रित छ।’ 

अर्थमन्त्री डा युवराज खतिवडाले गतिहीन बजेट ल्याएको उनले आरोप लगाए। अर्थमन्त्रीलाई उनले दोसाँधमा उभिएको व्यक्तिको संज्ञा दिए। ‘दोसाँधमा उभिए जस्तो, यता जाऊँ कि उता जाऊँ जस्तो, अलि डराए जस्तो लाग्यो। प्याराडाइम सिफ्ट तरिकाले बजेट प्रस्तुत हुनुपर्नेमा त्यस्तो हुन सकेन,’ उनले भने । 

भट्टराईले दिगो विकास लक्ष्यमा पुग्नका लागि प्रस्तुत बजेट चुकेको बताए। 

आयव्ययको संरचना लामो समयदेखि एकै तबरको भएको पद्धतिप्रति आलोचना गर्दै उनले भने, ‘करको दायरामा भन्सार कर र भ्याट मुख्य आधार रहेको छ । जति बढी आयात गर्न सक्यो, कर उति धेरै बढ्ने भयो।’ 

विकास खर्च र चालु खर्चको अन्तरमा उल्टो हुनुपर्ने उनको सुझाव थियो। ‘सामान्य खर्च बढ्ने कार्य मात्रै भएको छ। ६२ प्रतिशतभन्दा बढी चालु खर्च गरेपछि विकास खर्च कसरी गर्न सकिन्छ ? विकास खर्च बढी चाहिने अवस्थामा जम्मा २६ प्रतिशत रहेको छ। हुनुपर्ने यसको उल्टो हो । वित्तीय व्यवस्थापन त ऋणको ब्याजतिरको हो। आर्थिक संरचनामा कुनै परिवर्तन आएन। खुसी हुने अवस्था छैन,’ उनले भने । 

आर्थिक वृद्धिदर केही बढ्नुमा मौसमी कारण भएको दलिल पनि उनको दाबी छ । अर्थतन्त्र सानो रहेको मुलुकामा मात्रात्मक प्रतिशतसँग जोडेर हेर्नुेपर्ने भन्दै उनले भने, ‘सयमा सय थपिनु पनि शतप्रतिशत हो। एकमा एक थपिनु पनि शतप्रतिशत। कम आधार भएको अर्थतन्त्रमा ६ देखि ७ सम्मको आर्थिक वृद्धिदर हुनुलाई मौसमले पनि साथ दिएको हो।’ 

अध्यक्ष भट्टराईले गुठी विधेयकसँगै माइतघर मण्डलामा भएको नेवार समुदायको प्रदर्शनको पनि स्मरण गराए । 

गुठी विधेयक संविधान विपरित भएको दाबी गर्दै उनले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनको संकेत बुझ्न सरकारलाई आग्रह गरे । 

उनले भने, ‘हामी खस आर्य समुदाय, हामीले एउटा उखान बनाएका छौं, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ । अस्ति माइतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले । यसबाट हाम्रा ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री, ज्वाइँ मन्त्रीजीहरु पनि सर्तक हुनुहोला ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *