जीप दुर्घटनामा एकै परिवारका तीन जनासहित १० जनाको मृत्यु

बझाङ, ३ असार । बझाङमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० जना पुगेको छ । सदरमुकाम चैनपुर नजिकै डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालिका – १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा १० जनाको घटना स्थलमा नै मृत्यु भएको हो । 

दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते ३ जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरुको उपचारका लागि ‘नाइन एन एकेडी’ कल साइनको सिम्रिक एयरको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । अन्य २ जना घाइतेको जिल्ला अस्पताल सिमखेतका उपचार भैरहेको छ । 

 

null

दुर्घटनामा एकै गाँउका ७ जनाको मृत्यु भएको छ भने एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मष्टा गाँउपालिका –१ कोटदेवलका एकै परिवारका ४० वर्षीय कलक खड्का उनकी श्रीमती ४८ वर्षीया जुनधारा खड्का र उनका १२ बर्षीय छोरा सरोज खड्काको मृत्यु भएको हो । 

यस्तै यही गाउँका १९ वर्षीय हिक्मत खड्का, ५२ वर्षीया धौलीदेवी खड्का, १५ वर्षीया जुना खड्का, ८ वर्षीया विपना खड्काको मृत्यु भएको छ । यस्तै, मष्टा गाँउपालिका– १ कै रनाडा गाउँका ३० वर्षीय भक्त द्धाल र ३५ वर्षीया लक्ष्मी द्धाल र जिनाडा गाउँका २२ वर्षीय जीप चालक सुरेन्द्र थापाको मृत्यु भएको हो । 

घाइते भएका पाँच मध्ये तीन जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । तीनै जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल सिमखेतले जनाएको छ । मष्टा गाँउपालिका– १ का १२ वर्षीय गणेश खड्का, २३ वर्षीय गोकुल शाही र ३३ वर्षीय जनक द्वाललाई नेपालगञ्ज लगिएको हो । घाइते तीनै जनाको अवस्था गम्भीर छ । 

मष्टा गाउँपालिका–१ कै ३५ वर्षीया अनिता द्धाल, १५ वर्षीया संगीता खड्काको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको छ । मृतक सबैको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मष्टा गाँउपालिका वडा नम्बर १ शोकमा डुबेको छ । क्षमता भन्दा बढी यात्रु, उकालो र साँघुरो बाटो भएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =