सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा तनाव

डडेल्धुरां, ३२ जेष्ठ । डडेल्धुरा अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै तिनका आफन्तले प्रदर्शन गरेका छन् । जिल्लाको अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको मृत्यु अस्पतालको लापरबाहीबाट भएको भन्दै आफन्तले अस्पतालमा प्रदर्शन गरेका हुन् । 

‘ब्लिडिङ’ नरोकिएपछि गीतालाई शुक्रबार परिवारले अस्पताल भर्ना गरेका थिए । तर, उनलाई अस्पतालले बचाउन सकेन । बरु हेलिकप्टरको व्यवस्था गरेर रेफर गरिदियो । जसमा अस्पतालको चरम लापरबाही रहेको आफन्तको दाबी छ । 

 

null

अप्रेसनमै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा रेफर नगरेर त्यही राखेको आरोप परिवारको छ । तर, अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ । गीतालाई ८ पउण्ड रगत दिएर रेफर गरिसकेको अवस्थामा उनको ज्यान गएकाले अस्पतालको लापरवाही भन्नु जायज नभएको अस्पताल प्रशासनको दाबी छ । 

अस्पतालले आफ्नो बचाउ गरे पनि आफन्तले दोषी चिकित्सकमाथि कारबाही, शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेका छन् । आक्रोसित आफन्तले अस्पताल परिसरमा ढुंगामुढासमेत गरेका छन् । पीडित पक्ष आक्रोसमा आएपछि केहीबेर प्रहरीसँग झडपसमेत भएको थियो । 

ढुंगामुढाबाट अस्पतालमा आंशिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले घटनाबारे छानबिन गरेर दोषीमाथि कारवाही गर्ने सहमति दुई पक्षबीच बनेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *