विदेशबाट फर्किएपछि गाउँमै व्यावसायिक बाख्रापालन

 

जेठ ३०, गुल्मी । विदेशबाट फर्किएर गुल्मीमा युवाले व्यवसायिक बाख्रा पालन थालेका छन् । 

स्वदेशमा बसेर काम गर्नुभन्दा विदेश गएपछि मनग्य कमाइ हुन्छ भन्ने सपना बोकेर विदेशिएका गुल्मी मालिकाका मधुसुदन भट्टराई, ऋषिराम, रेग्मी र राजु रेग्मीले व्यवसायिक बाख्रा पालन गरेका हुन् । 

null

पाँच वर्ष छिमेकी देश भारत र दश वर्ष कतारमा पसिना बगाएर फर्किएका हुन् मधुसुदन भट्टराई । त्यस्तै तीन वर्ष मलेसिया बसेर फर्किएका हुन् ऋषिराम रेग्मी र राजु रेग्मी । 

गाउँमा आफ्नै दाजुभाइ कपिल रेग्मी र खिमलाल रेग्मीसँगै पाँच युवा मिलेर मालिका–मदाने कृषि उत्पादन तथा वितरण उद्योगको नाममा फार्म दर्ता गरेर उनीहरुले व्यावसायिक रूपमा बाख्रापालन गर्न शुरु गरेका हुन् । 

‘विदेशमा बसेर काम गर्नुभन्दा आफ्नै देशमा सजिलो र परिवारसँगै सुख दुःख साटासाट गररे काम गर्दा मन पनि निकै खुशी हुन्छ,’ १० वर्ष विदेश बसेर फर्किएका कपिल रेग्मी भन्छन्। 

शुरुमा आफ्नै घर र वरपरबाट जम्मा गरेर स्थानीय जातका १७ बाख्राबाट व्यवसाय शुरु गरेका हुन् । वर्षौ‌सम्म विदेशमा काम गर्दा पनि भनेजस्तो राम्रो कमाइ गर्न सकिएन, त्यसैले स्वदेशमै फर्किएर केही गर्नुपर्छ भन्ने लागेर घर फर्कने निधो गरेको हूँ, अहिले केही गर्नुपर्छ भनेर यो पेशा शुरु गरेका छौं,’ अर्का युवा मधुसुदन भट्टराईले थपे। 

उनीहरुले स्वदेशमा फर्किएपछि गाउँमै ऋणधन गरेर १६ लाख रुपैयाँ लागतमा बस्ने घरसहित बाख्रा फार्म स्थापना गरेको बताए । गत वर्षदेखि व्यावसायिक रूपमा बाख्रा फार्म शुरु गरेपछि यतिबेला उनीहरुको दिनचर्या बिहानदेखि बेलुकासम्म बाख्राको हेरचाहमा बित्न थालेको छ । 

उनीहरुले पालेका बाख्रा स्थानीय जातका भएका कारण अन्य जातका बाख्राको तुलनामा केही साना छन् । तर साना भए पनि गाउँघरमा पूजाआजामा चढाउनका लागि स्थानीय बाख्राको आवश्यकता पर्ने भएका कारण मूल्य पनि अन्य बाख्राको तुलनामा स्थानीय बाख्राको राम्रो पर्ने गरेको उनीहरुको अनुभव छ । 

व्यावसायिकरूपमा बाख्रापालन गरेपछि उनीहरुले प्रदेशअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट चार लाख रुपैयाँ र स्थानीय मालिका गाउँपालिकाबाट ५० हजार रुपैयाँ अनुदान रकमसमेत प्राप्त गरेका छन् । 

उक्त रकम उनीहरुले बाख्राको व्यवस्थापन र केही रकम भौतिक व्यवस्थापनमा खर्चिएको बताए । 

सरकारले दिएको अनुदान भनेको खानलाई मात्र होइन, केही गरेर देखाउनुपर्छ भनेर ती युवाले शुरु गरेको कामबाट आफू पनि प्रभावित बनेको बताउँछन्, कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख अम्मरराज शर्मा घिमिरे । उनले स्थानीय जातका बाख्राको संरक्षण गर्न सकेमा यसबाट मनग्य आम्दानी र फाइदा दुवै लिन सकिने बताए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *