विमानस्थलका अधिकृतको २ करोड बराबरको अवैध सम्पत्ति श्रीमतीकाे नाममा

 

जेठ १६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध मुद्दा दायर गरेको छ । 

अख्तियारले अध्यागमन अधिकृत अर्यालले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

null

अधिकृत अर्यालको आम्दानीमध्ये २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अनुसन्धानमा प्रमाणित भएको भन्दै अख्तियारले अर्याल उपर सोही बराबरको बीगो मागदाबी गरेको छ । अर्यालकी श्रीमती सरिता नेपाललाई समेत प्रतिवादी बनाइ मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

आरोपी अर्याल ०५९ भदौ २३ गते अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको अध्यागमन अधिकृत नियुक्त भएका थिए । सोही मितिबाट २०७५ मंसिर मसान्तसम्मको अवधिमा उनले तलब¸ भत्ता¸ कर्जा¸ कृषि आय¸ स्त्रिधन¸ अंश नगद र जग्गा बिक्री लगायतबाट जम्मा २ करोड ४९ लाख ९२ हजार ७ सय ३० रुपैयाँ आय आर्जन गरेको देखिन्छ । 

सोही अवधिमा अर्यालले आफू र श्रीमती सरिता नेपाल समेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा ४ करोड ५६ लाख ८१ हजार ८ सय ४१ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानमा खुलेको छ । 

उनको वैध आयको तुलनामा २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ बराबरको भागको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकोले सोही रकम बराबरको बीगो मागदाबी गर्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *