भट्टराईले किन गरे फोरमसँग एकीकरण ?

काठमाडौँ, २३ वैशाख । आफू आबद्ध दललाई ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाबुराम भट्टराईले ०७२ असोज ९ मा तत्कालिन माओवादी (केन्द्र) परित्याग गरेका थिए । उनले पार्टी परित्याग गर्दा भारतमा अरविन्द केजरीवालको उदय भएको थियो । परम्परागत राजनीतिक दलको विकल्पमा केजरिवालले नेतृत्व गरेको पार्टी दिल्लीमा एकैचोटी सरकार नै गठन गर्ने हैसियतमा पुग्यो । केजरीवाल मुख्यमन्त्री भए । नेता भट्टराईमा त्यसैको गाढा प्रभाव पर्‍यो । 

 

आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालको ‘संसदीय कम्युनिज्म’ र नेत्रवित्रम चन्दको ‘उग्रवादी कम्यूनिज्म’ दुवै दर्शन गलत भन्दै भट्टराईले पार्टी मात्रै छाडेनन्, समृद्धिको नारासहित आफ्नै नेतृत्वमा ०७३ जेठ ३० मा नयाँ शक्ति नेपाल पार्टी स्थापना गरे । ‘पुँजीवाद’ र ‘समाजवाद’ लाई संयोजन गरेर नयाँ विचारसहित नयाँ शक्तिलाई मुलुकको वैकल्पिक शक्ति बनाउने अठोट उनमा थियो । परम्परागत कम्युनिष्ट दर्शन छाडेर नयाँ पार्टीको नेतृत्व लिदै गर्दा भट्टराईले नेतृत्व गरेको पार्टीले केही समय ठूलै हलचल निम्त्याएको थियो । 

null

पुरानो (माओवादी केन्द्र) पार्टीमा रहेका दुई दर्जनबढी केन्द्रीय स्तरका नेताहरु उनलाई साथ दिन पार्टी परित्याग गरेर आईपुगेका थिए । नागरिक समाजका केही अगुवा, पूर्व प्रशासक, पूर्व प्रहरी, लेखक कलाकारसमेत नयाँ शक्तिमा जोडिन आएका थिए। बाम र प्रजातान्त्रिक विचार राख्नेहरुको गठजोडबाट पार्टी निर्माण भएको थियो । पार्टीको नयाँ सिद्धान्तले आकार नलिँदै कम्यूनिष्ट र गैरकम्यूनिष्टबीचको अन्तरद्वन्द्व बढ्दै जान थाल्यो । त्यसपछि छाड्ने क्रम पनि सुरु भयो । पूर्व अर्थ सचिव रामेश्वर खनाल कांग्रेसबाट नयाँ शक्तिमा गएका थिए । उनले छाडे । 

बाम लेखक मुमाराम खनालले छाडे । भट्टराई प्रधानमन्त्री छँदा राजनीतिक सल्लाहकारको सुविधा भोग गरेका देवेन्द्र पौडेललाई समेत नयाँ शक्तिप्रति विश्वास जागेन । स्थानीय तहमा भएको निर्वाचनमा जताततै पराजित भएपछि उनले पार्टी छाडे । उनीसँगै रामचन्द्र झा, खिमलाल देवकोटासहित दुई दर्जन बढी केन्द्रीय स्तरका नेताहरु तत्कालिन माआवादी केन्द्र (हाल नेकपा) मै फर्किए । अहिले भट्टराईका साथमा केन्द्रीय स्तरका नेताहरु पत्नी हिसिला यमी, गंगानारायण श्रेष्ठ, देवेन्द्र पराजुली, कल्पना धमला मात्रै छन् । 

पढाईमा जस्तै नयाँ शक्ति पार्टीलाई अब्बल वैकल्पिक शक्तिको रुपमा उठाउने उनको सपना त पूरा भएन नै । क्रमशः उनको शक्ति कमजोर बन्दै गयो । राजनीतिक वृत्तमा उनको औचित्य र प्रभाव क्रमशः घटदै गयो । गएको संसदीय निर्वाचनमा गोरखा २ बाट कांग्रेससँगको सहकार्यमा उनले चुनाव त जिते, तर पार्टीको अवस्था बेहाल भयो । प्रतिनिधिसभामा उनी बाहेक कसैले पनि चुनाव जित्न सकेन । 

प्रदेशसभामा गोरखा र रसुवाबाट दुई जना निर्वाचित भए । तीमध्ये रसुवाका सांसद प्रेम तामाङ प्राविधिक रुपमा मात्रै नयाँ शक्तिमा छन् । उनी केही समयअघि कांग्रेस प्रवेश गर्ने कार्यक्रम थियो । दल बदल्दा सांसद पद जाने कानूनी व्यवस्थाका कारण उनी रोकिएका हुन् । आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *